Shittalpati
शनिबार तानसेन खानेपानीको विशेष साधारण सभा हुँदै

पाल्पा, तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले शनिबार विशेष साधारण सभा गर्न लागेको छ । १९ असार २०८० मा मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा बनेको तदर्थ समितिले विशेष साधारण सभा गर्न लागेको हो ।

 साधारण सभामा संशोधित विधान २०८० पेश गर्ने र हालसम्म भए गरेका गतिविधिका विषयमा जानकारी गराउने उद्देश्यले विशेष साधारण सभाको आयोजना गरिएको समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । समितिले शुक्रबार पत्रकार सम्मेलन गरी साधारण सभाको बारेमा जानकारी गराएको छ । भोली विहान ११ बजे तानसेन नगरपालिकाको हलमा कार्यक्रम हुने अध्यक्ष श्रेष्ठले बताए ।  

यस अघिको समितिले निर्वाचन पनि नगर्ने, समितिबाट पारित नियम पनि आफ्नै अनुकुलताको निर्माण गरेर अगाडि बढ्ने चेष्टा गरेपछि १३ असार २०८० को आम उपभोक्ताहरुको भेलाले विघटन गरी तानसेन नगर सरकारले यसको जिम्मा लिनुपर्ने निर्णय गरेको थियो ।  सो निर्णयको आधारमा नगरपालिकाकाले १९ असारमा श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति निर्माण गरी यथासक्य छिटो निर्वाचन गर्ने जिम्मेवारी तोकेको थियो । तदर्थ समिति बनेसँगै तानसेनमा खानेपानी सहज बन्दै गएको छ । समितिले खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गर्न थालेसँगै तानसेनको खानेपानी वितरण सहज बन्दै गएको हो । 

सातदिनदेखि दश/पन्ध्र दिनमा आउने खानेपानी अहिले दुई/तीन दिन विराएर आउन थालेको समितिका अध्यक्ष श्रेष्ठले बताए । समितिले खानेपानीका मुहान व्यवस्थित गर्ने, टुटफुट भएका पाइपहरु मर्मत सम्भार गर्ने, विद्युत आपूर्तिका कारण देखिएको समस्या समाधान गर्ने, कर्मचारीहरुलाई वितरणमा सचेत गराउने जस्ता कामहरु गर्दै आएकाले खानेपानीमा केही सहज हुँदै गएको उनको भनाई छ । वितरण प्रणाली नै व्यवस्थित नहुँदा तानसेनवासीले वर्षौदेखि खानेपानी समस्या झेल्दै आएका थिए । यस पटक तदर्थ समितिले भने अव्यवस्थित वितरण प्रणालीलाई व्यवस्थित बनाउने काममा सक्रिय भएर लागेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update