Shittalpati
आज बीपी जयन्ती : सम्झनामा पाल्पा, गुल्मीसहित देशभर कार्यक्रम हुँदै

पाल्पा, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस र पार्टीका भ्रातृ संगठनले देशभर कार्यक्रम तय गरेका छन् । पाल्पा र गुल्मी काँग्रेसले बीपी जयन्तीका लागि एक हप्ता अघि नै कार्यक्रम सार्वजनिक गरेको थियो ।  बीपीको सम्झना गर्दै बीपी विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताए । उनका अनुसार जननायक कोइरालाको जन्मजयन्तीमा तानसेनस्थित पार्टीको जिल्ला कार्यालयमा बीपीको प्रतिमामा माल्यार्पणसँगै  विचार गोष्ठी राखिएको छ । उता गुल्मी काँग्रेसले पनि स्थानीय, प्रदेश, क्षेत्र र जिल्लामा छुुट्टाछुट्टै  कार्यक्रम गर्न लागेको छ ।  

आज जिल्ला कार्यसमितिले काँग्रेस रेसुङ्गा नगर समितिको समन्वयमा जिल्ला अस्पताल गुल्मीमा भर्ना भएका बिरामीहरु र उपल्लो तम्घास माध्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरुलाई फलफुल वितरण गर्न लागेको पार्टी सचिव जगदीश भट्टराईले बताए । उनका अनुसार नेपाली काँग्रेस पालिका, प्रदेश र क्षेत्रीय समितिहरुले स्थानीय रेडियो, टेलिभिजन, अनलाईन वा कुनै पनि सञ्चारका माध्यमबाट महामानव बीपी कोइरालाका विषयमा परिसंवाद गर्ने, गराउँने, सार्वजनिक स्थलहरुको सरसफाई, विद्यालय, स्वास्थ्य संस्था, वृद्धाश्रम, धार्मिक संस्थामा सहयोग र फलफुल वितरण गर्ने, वीपी स्मृति दिवसमा रोपिएका विरुवाहरुको गोडमेल, मलजल तथा संरक्षण गर्ने कार्यक्रम तय भएको छ ।

बीपीको यस्तो छ जीवनी नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिए । 

भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय बने । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो । क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–काँग्रेस सरकारमा बीपी गृहमन्त्री बने । विसं २०१५ को आम निर्वाचनमा काँग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।

प्रधानमन्त्रित्व कालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्दै किसानको पक्षमा महत्वपूर्ण कार्यक्रम घोषणा गरेका थिए । विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइयो ।  विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको राष्ट्रिय मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ । क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update