Shittalpati
‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ हुँदै

पाल्पा, तानसेनमा ‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ हुन लागेको छ । पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा असोज ७ गते आइतबार हुने भएको हो । स्कुलको प्राङ्गणमा कार्यक्रम गरिने जनाइएको छ । कन्भेन्समा कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागी हुनेछन् । हाल सम्म दर्ता भए अनुसार १० वटा संस्थागत विद्यालयबाट १ सय २० जना विद्यार्थीले भाग लिने छन् । विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरूले अवलोकन गर्ने कार्यक्रम संयोजक शोभा भट्टराईले जानकारी दिइन् ।

कार्यक्रममा केस स्टडी, हाजिरी जवाफ, कथा लेखन, पेण्टिङ ड्रोइङका विभिन्न विधामा प्रतिस्पर्धा गर्ने, कुनै विषयवस्तुमा सामूहिक छलफल हुनेछ । विद्यार्थीले व्यक्तिगत जीवनमा हुने व्यावहारिक विभिन्न कामबारे तर्कवितर्क गर्ने सक्नेछन् । कोएस्ट नेपालको मातहतमा रहेर यो कार्यक्रम सञ्चालन हुनेछ । यो कार्यक्रमले विद्यार्थीलाई गुड र स्मार्ट क्वालिटीको बनाउने एनसी एसक्यूसी नेपालका केन्द्रीय सदस्य गंगाबहादुर खत्रीले बताए । हाम्रो शिक्षा प्रणालीमा प्राप्तांकले विद्यार्थीमा योग्यतताक्रम हासिल भए पनि विशेष सीप नहुने हुँदा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास लिए । यो कार्यक्रममा सहभागी विद्यार्थीले मानवीय र सामाजिक व्यवहार र संस्कारबारे जानकारी पाउने खत्रीले बताए ।

 उनले भने ‘पढेर धेरै नम्बर ल्याउनुपर्छ भन्ने मात्रै सोंच छ । अहिलेका समालोचनात्मक चिन्तन, आत्मबोध, आत्ममूल्याड्ढन जस्ता सीप नै छैन । यस्ता सीप विद्यार्थीहरुका लागि आवश्यक छ ।’ विद्यार्थीहरूले आफ्ना समस्याको पहिचान गर्न, समस्याका कारण पत्ता लगाउन र समस्याले पार्ने असर समाधानका बारेमा उपाय खोज्ने क्षमताको विकास गर्ने केन्द्रीय सदस्य खत्रीले बताए । विद्यार्थी गुणीयचक्र एउटा प्रक्रिया भएको र उनीहरुमा अन्तर्निहित रहेका प्रतिभाको प्रस्फुटन गर्न यो कार्यक्रमले उपयोगी भूमिका निर्वाह गर्ने पाल्पा हवको पूर्व संयोजक अशेष भट्टराईले बताए । आधुनिक शिक्षासँगै वैज्ञानिक तरिकाले संस्कारयुक्त ज्ञान प्राप्त गर्न कार्यक्रम प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update