Shittalpati
आज श्री कृष्णजन्माष्टमी पर्व मनाइदैं

पाल्पा, आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रीकृष्णको पूजा आराधना गरी मनाइदैं छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो ।

कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक मान्यता छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको मानिन्छ । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्वमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्वको शिक्षा दिएका थिए । युद्वका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भगवत गीताका रुपमा प्रचलित भएको छ । आजको दिन देशभरका कृष्ण मन्दिरहरुमा पूजा आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

विशेषगरी महिला व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति संगीत गाउने गर्दछन् । सो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । प्राचीन इतिहास अनुसार अवतार धारण गरेर करुणा–वरुणालय भगवान् कृष्णले भारतको जमीनलाई कृतार्थ बनाएका थिए । असुरहरुको उत्पीडनले भयभीत भएका जनताको रक्षाका लागि, दानवहरुको पञ्जामा फसेर वीभत्स भएको मानवताको उद्धारका लागि भगवान् कृष्णले आजको दिन नै वैकुण्ठको मोह त्यागेर कंसको कारागारमा बन्दी भएर अवतार धारण गरेका थिए । आजको दिन विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा भगवान् श्रीकृष्णको धर्तीमा आउने र धर्मको उत्थान गर्ने भन्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update