पाल्पा, बुद्ध विहार भृकुटीमण्डप काठमाडौका प्रमुख धर्म कथिक भिक्षु कोण्डन्य महास्थविरले बौद्ध शिक्षा ग्रहण गर्न सकियो भने जीवन सार्थक हुुने बताएका छन् । धर्मचक्र बौद्ध युवा संघ तानसेन पाल्पाको रजत जयन्तीलाई तानसेनमा सम्बोधन गर्दै बौद्ध शिक्षाले मानव जीवनलाई शान्ति र आत्मज्ञानी बनाउँदै सार्थकता प्रदान गर्ने बताएका हुन् ।
महास्थविरले भगवान बुद्धले कुनै वर्ग, पक्ष, जात धर्म, लिङ्ग, देश नभनि सम्पूर्ण मानव तथा प्राणी जगतको हितका लागि शिक्षा प्रदान गरेको भन्दै त्यस्तो शिक्षाले मानिस जीवनलाई सफल र सार्थकता बनाउने बताए । उनले भने ‘बौद्ध शिक्षा ग्रहण गरेमा कोही कसैसँग झगडा नहुने, लोभ लालच हट्ने, सदाचारी व्यवहार गर्ने, मानसिक रोगबाट मुक्त भइने छ ।’ हामीलाई चोटपटक लाग्दा दुखेको हुन्छ, कसैले शरीरमा बाधा पुर्याउँदा हामीलाई पीडा हुन्छ, त्यस्तै प्राणीहरुमा पनि हुन्छ होला भनि आफुलाई सम्झी व्यवहार गर्नुपर्नेमा महास्थविरले जोड दिए । ‘मानिसको मृत्यु निश्चित छ त्यसैले जति कमाएको धन दौलत, आफन्त इष्टमित्र कोही पनि मृत्यु सँगसँगै जार्दैनन् सँगै जाने भनेको सतकर्म, मानव तथा प्राणी हितका कर्महरु मात्र हुन् । बुद्ध शिक्षाले मानवको शान्ति सुखी आत्मज्ञानी बनाउँछ’ उनले भने । परम्परा माथि अन्धविश्वासको साथ मानेर काम गर्नुभन्दा आत्म समिक्षा गरेर गतल परम्पराहरुलाई सुधार गर्दै जानुपर्ने बुद्ध शिक्षामा उल्लेख रहेको महास्थविरले बताए । बुद्धले त मार्ग दर्शन मात्र दिनुभएको हो, आत्मविश्वासका साथ कर्म गर्ने स्वय आफैले हो मानवले जस्तो कर्म ग¥यो जीवन त्यस्तै व्यतित हुने कुरा बुद्ध शिक्षामा रहेको उनले उल्लेख गरे । मानव इन्द्रियहरु लोभी पापी, भ्रष्टचारी छन् ती इन्द्रियहरुलाई नियन्त्रणमा राख्ने, अनुशासित बनाउने काम बुद्ध शिक्षा प्रवचन र ध्यानले दिने महास्थविरले बताए ।
रजत जयन्तीको अवसरमा बौद्ध युवा संघले एक हप्ता सम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । भदौ ८ प्रविनबहादुर बज्राचार्यको अगुवाइमा धर्मचक्र विहारमा सरसफाई, भदौ ९ गते राजेशकुमार बज्राचार्यको अगुवाईमा आनापाना सति ध्यान अभ्यास, धिरजबहादुर बज्राचार्यको अगुवाइमा शान्ति पदयात्रा, विरेन्द्रराज शाक्यको अगुवाईमा रिब्दीकोट २ देउराली माल्मुमका असाहय, अशक्त, विपन्न दृष्टिविहिनहरुको लागि खाद्यान्न वितरण, विनोद शेखर बज्राचार्यको अगुवाइमा तानसेनका विहारमा ज्ञानमाला भजन प्रस्तुति, भदौ १४ गते अञ्जुला बज्राचार्यको अगुवाइमा मिसन अस्पतालका विरामीहरुलाई फलफूल तथा पौष्टिक पदार्थ वितरण, विनयराज बज्राचार्यको अगुवाइमा जिल्ला कारागारका बन्दीहरुलाई पौष्टिक पदार्थ, स्वास्थ्य सामग्री तथा औषधी र धार्मिक पुस्तकहरु वितरण, प्रशन्नबहादुर बज्राचार्यका अगुवाइमा अभियान नेपाल धुर्वघाटमा रहेका असहाय, अनाथ बालबालिकाको लागि भोजन दान गरेको छ । भदौ १५ गते दिप्ती बज्राचार्यको अगुवाइमा निल सागर सेवा आश्रम मिसनमा भोजन दान, अञ्जु शाक्यको अगुवाइमा पप नमुना मावि तानसेनका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, बसन्तलाल बज्राचार्यको अगुवाइमा नगरमा शान्ति दिपयात्रा तथा प्रचार–प्रसार, भदौ १६ गते जितेन्द्रबहादुर बज्राचार्यको अगुवाइमा श्रीनगर पारिलेयक वनमा सरसफाई भएको छ ।
रजत महोत्सवको अवसरमा धर्मचक्र बौद्ध युवा संघ तानसेन पाल्पाले विभिन्न ६ वटा विधामा संस्थापक कार्यसमिति, समाजसेवी, सहयोगीदाताहरु, बुद्ध धर्म प्रचारकहरुलाई सम्मान गरेको छ । संघका अध्यक्ष दिनेशबहादुर बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव नारायणबहादुर बज्राचार्य र सम्मान संयोजक अनुराधा बज्राचार्यले गरेका थिए ।


                                        
                                        
                                        
                    
                    
                    