Shittalpati
बीमा बोर्डले पाल्पाका मिसन र लुम्बिनी मेडिकलसहित २६ वटा स्वास्थ्य संस्थालाई सूचीबाट हटायो

पाल्पा, स्वास्थ्य बीमा बोर्डले पाल्पाका युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजसहित देशभरका २६ वटा निजी स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमाको सूचिबाट हटाएको छ । बोर्डले  एक सूचना जारी गर्दै स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका पाल्पाका दुई अस्पतालसहित २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाइएको जनाएको हो । 

बीमा बोर्डका अनुसार सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको जनाएको छ ।  

पाल्पाको मिसन अस्पतालले बार्डले भुक्तानी नदिएपछि  साउन २१ गतेदेखि बिमा उपचार सेवा बन्द गरेको थियो । बोर्डले सम्झौता अनुरुप काम नगरेको र समयमै भुक्तानी नदिएकाले सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको थियो । लुम्बिनी मेडिकल कलेजको भने यस अघि नै सेवा बन्द भएको थियो । 

सरकारले यस अघि नै निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने घोषणा गरेको थियो । प्रतिनिधिसभाबाट १३ असारमा पास भएको आर्थिक वर्ष २०८०/८१ को बजेटको बुँदा नं. २३८ मा ‘सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने’ उल्लेख छ । त्योसँगै मेडिकल कलेजहरुले पनि आफूले दिँदै आएको सेवा बन्द गरेका थिए । सरकारले सरकारी, सामुदायिक र सहकारीबाट सञ्चालन भएका अस्पतालमा बीमामा कार्यक्रम सञ्चालन गर्ने उल्लेख भएपछि  बोर्डले निजी अस्पताललाई पुनः नवीकरण रोकेर सूचीबाट हटाउन थालेको हो । सरकारले बजेट वक्तव्य मार्फत निजी र मेडिकल कलेजबाट सेवा सञ्चालन गर्नमा रोक लगाएसँगै निजी अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रमबाट हात झिकेका छन् ।

यस्तो छ बोर्डद्वारा जारी सूचनाः

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update