Shittalpati
पाल्पाका निर्माणधिन पुलहरु जोखिममा !

इमान सिं राना

पाल्पा(रामपुर), कालीगण्डकी करिडोर अन्तर्गत रामपुर ३ र ४ लाई जोड्ने अँधेरी खोलापुल गत चैत्र १३ गते ढलान गर्ने तयारी भएको थियो । तर कोरोना संक्रमणको फैलावट रोक्न ११ गतेदेखि लकडाउन घोषणा भएसंगै निर्माणको काम रोकिन पुग्यो । अनुमति प्राप्त हुने वित्तिकै काम गर्ने गरी निर्माण व्यवसायीले मजदुरहरुलाई यथास्थान मै तयारी अवस्थामा राखेको थियो । तर सोमबार विहानको वर्षादसंगै आएको भेलले ढलानको तयारीमा रहेको पुलको टेको बगाएको छ । ह्युम पाईपले पानीको बहाव थेग्न नसकेपछि भेल सहितको खोलाले ढलानको लागि लगाएको केही टेको, प्लाई, क्लिप, काठहरु बगाएको निर्माणको जिम्मा पाएको इलाईट कन्ट्रक्सनले जनाएको छ ।

साथै एक वटा मिक्स्चर समेत बगाएको छ । २५ मिटर लम्बाई रहेको पुलको इलाईट कन्ट्रक्सनका प्रतिनिधि श्याम केसीले गत चैत्र १३ गते ढलान गर्ने तयारी भए पनि लकडाउनका कारण ढलान रोकिएको बताए । उनले भने, ‘हामीले ढलानको तयारी गरेका थियौ । लकडाउन भएपछि आवश्यक सामान ल्याउन र काम अघि बढाउन पाएनौं । काम अन्तिम चरणमा भएकाले खोला बढेमा समस्या हुन्छ भनेर प्रशासनसँग पटक–पटक अनुमती माग्यौ तर पाइएन ।’ उनले थपे, ‘हामीले गिट्टी ढलानको अघिल्लो दिन मात्र ल्याउने गरेका थियौं । सिमेन्ट र बालुवा स्टक थियो । खुल्छखुल्छ भन्दा–भन्दा ढिलो भयो । अन्तिममा आएर बैशाख १९/२० मा ढलान गर्ने तयारी गरिरहेका थियौं । आज यस्तो भैदियो ।’ उनका अनुसार सोमबारको पानीले झण्डै २५ लाख क्षति गरेको छ ।

उत्तर दक्षिण कालीगण्डकी लोक मार्ग आयोजनाको कार्यालय पाल्पाका अनुसार इलाईटले भ्याट सहित ३ करोड ७२ लाख ५१ हजार ७ सय ८१ रुपैयाँ लागतमा २०७४ फागुन २२ मा २०७६ पुस २१ गते भित्र सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । त्यस्तै असार मसान्त भित्र सम्पन्न गर्ने गरी ६ महिना म्याद थप भएको थियो । असार मसान्त अगावै सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी काम अघि बढाए पनि लकडाउन संगै कच्चा पदार्थ आपूर्ति र काम अघि बढाउने अनुमति प्रशासनसंग नपाउँदा समस्या निम्तिएको प्रोजेक्ट म्यानेजर शिव श्रेष्ठले बताए । यी त उदाहरण मात्र हुन् अँधेरीखोला मात्रै होईन निर्माणको अन्तिम चरणमा रहेका अन्य पुलहरु समेत जोखिममा परेका छन् ।

उत्तर दक्षिण कालीगण्डकी लोकमार्ग अन्तर्गत गैडाकोट, रामपुर, पिपल डाँडा खण्डको ४ वटा पुल जोखिममा रहेको उत्तर दक्षिण कालीगण्डकी लोक मार्ग आयोजनाको कार्यालयले जनाएको छ । अंधेरी खोलासँगै पाल्पाको ग्याप्दीखोला र नवलपुरको लादी खोला, महेश्वरी खोलाका पुलको निर्माण कार्य रोकिदा वर्षादसँगै जोखिम बढेको आयोजनाका इन्जिनियर राजिव मानन्धरले जानकारी दिए । गैडाकोट, रामपुर, पिपलडाँडा खण्डमा २१ वटा पुल मध्ये ६ वटा निर्माण भैसकेका छन् । लकडाउनका कारण तिव्र गतिमा अघि बढेको सडक पिचको काम अहिले ठप्प रहेको उत्तर दक्षिण कालीगण्डकी लोक मार्ग आयोजनाको कार्यालयका प्रमुख नरेन्द्र सुवेदीले बताए । कोरोना संक्रमण पूर्व कालीगण्डकी करिडोरको निर्माण कार्य युद्धस्तरमा अघि बढेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update