Shittalpati
कृषकलाई डढुवा रोग नियन्त्रण सम्बन्धी अभिमूखीकरण

पाल्पा (रामपुर) । रामपुर नगरपालिका ६ ले कृषकहरुका लागि आलुमा डढुवा रोग नियन्त्रण सम्बन्धी अभिमूखीकरण गोष्ठी सञ्चालन
गरेको छ ।
वडालाई आलुमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ आलु उत्सव सञ्चालन गरिरहेको वडाले पछिल्लो समय चिसो बढेकाले डढुवा रोगको प्रकोप देखिन सक्ने भन्दै नियन्त्रणका लागि वडा कार्यलयमा गोष्ठी सञ्चालन गरेको हो । गोष्ठीको शुभराम्भ गर्दै प्रदेश पाँचका सांसद विर बहादुर रानाले व्यवस्था परिवर्तन हुँदै गर्दा आमनागरिकको अवस्थामा परिवर्तन हुन सकेन भने संघीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउन नसक्ने बताए । उनले जनतासंग प्रत्यक्ष रुपमा स्थानीय तह जोडिने हुनाले यसका लागि विशेष ध्यान दिन आग्रह गरे । कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकालले वडाले आलु खेतीको लागि सञ्चालन गर्दै आएको कार्यक्रम निकै प्रभावकारी हुँदै गएको बताए ।

रामपुर नगरपालिकाका सल्लाहाकार लेखनाथ पोखरेलले पछिल्लो समय कृषिमा जनशक्ति अभाव हुँदै गएको उल्लेख गर्दै अब वैज्ञानिक पद्दतिमा जानु आवश्यक रहेको बताए । उनले उत्साहित कृषकहरुमा उत्साह थप्न सकिएन भने निराशा बढ्न सक्ने भन्दै यसमा समयमै सचेत हुनुपर्ने बताए । कार्यक्रममा कृषक नारायणप्रसाद भण्डारीले वडा कार्यलयले सञ्चालन गरेको अभियानले थप उत्साह जागेको बताए । रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले वडाले कृषकहरुले उत्पादन गरेको आलुको बजारीकरणको लागि आलु उत्सव सञ्चालन गर्नुका साथै भण्डारणको व्यवस्था गरिने बताए । वडा ६ का ७० जना भन्दा बढी कृषकहरुको सहभागिता रहेको गोष्ठीमा रामपुर नगरपालिका कृषि शाखाका प्रमुख रामहरी पाण्डेय र प्राविधिक सुशिल अधिकारीले सहजीकरण गरेका थिए । वडा अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य लोकमाया कुमालको स्वागत र वडा सचिव बासुदेव ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update