Shittalpati
एकै वडाबाट ७ लाख ७३ हजारको अदुवा बिक्री

पाल्पा, बगनासकाली गाउँपालिका–७  खानीगाउँस्थित अलैची टोलकी मिना कनौजेले झण्डै डेढ रोपनी जग्गामा व्यावसायिक अदुवा खेती गरिरहेकी छन् । गत वर्ष मूल्य नपाउँदा पनि ३ क्विन्टल  भन्दा बढी नयाँ अदुवा बिक्री गरी ८ हजार आम्दानी गरेकी उनले यस वर्ष करिब ७० किलो बूढी अदुवाबाट मात्रै ११ हजार २ सय कमाइन् । अघिल्लो वर्ष ८ हजारको अदुवा विक्री गरेकी अर्की कृषक विनिश्वर कनौजेले पनि यस वर्ष १० हजार भन्दा बढीको विक्री गरिन् । यहाँका महिला अलैची अदुवा कृषक समूह गठन गरी व्यवसायिक रुपमै लागेका छन् । 

समूहका १२ जना कृषक आवद्ध रहेका छन् । यस्तै खानीगाउँकै दोबाटोकी कृषक विमला गैरेले यस वर्ष बुढी अदुवा मात्र १२ हजारको विक्री गरेकी छन् । अर्की कृषक सीता विकले पनि बूढी अदुवा यस वर्ष १० हजारको विक्री गरिन् । यहाँ पनि चडिस्थान अदुवा कृषक समूहमा आवद्ध १९ जना कृषहरुले व्यवसायी रुपमा अदुवा खेती गर्दै आएका छन् । उनीहरुले ४ हजारदेखि १२ हजारसम्म एक पटकमा अदुवा विक्री गर्ने गरेको समूहकी अध्यक्ष मिठु सुनारले बताइन् । चापखोला अदुवा कृषक समूहका अध्यक्ष समेत रहेका अर्का कृषक लेखनाथ न्यौपानेले साढे २ रोपनी क्षेत्रफलमा ५ क्विन्टल अदुवा लगाएका छन् । उनले पनि यस वर्ष ४३ हजारको बूढी अदुवा विक्री गरिसकेका छन् । चापखोला अदुवा कृषक समूहमा १७ जना कृषक आवद्ध छन् । उनीहरुले एकै पटकमा ५ हजारदेखि ४५ हजारसम्मको अदुवा विक्री गर्र्दै आएका छन् । झाक्रीस्थान अदुवा कृषक समूहमा पनि २४ जना कृषकहरु व्यवसायिक अदुवा खेतीमा लागेका छन् । यस वडामा रहेका चार वटा कृषक समूहलाई कारितास नेपालको आर्थिक सहयोग र गाउँपालिकाको प्राविधिक सहयोग रहेको छ । उनीहरुले २०७८ देखि सहयोग गर्दै आएका छन् । यहाँ एउटै वडाबाट ७ लाख ७३ हजार ३ सय ७० बराबरको अदुवा विक्री भएको छ । यहाँका चार वटा कृषक समूहले वार्षिक ३ लाख देखि ४ लाख बढीको अदुवा विक्री गर्दै आएका छन् । उनीहरुले आर्थिक वर्ष २०७८/०७९ मा  ४ लाख ४० हजार ५ सय ९० को नयाँ अदुवा विक्री गरेका छन् भने आर्थिक वर्ष २०७९/०८० मा ३ लाख ३२ हजार ७ सय ८० को बूढी अदुवा विक्री गरे । उनीहरुले ३ लाख ९६ हजार २ सय बराबरको अदुवा भने विउको रुपमा राखेका छन् ।

सुरुको वर्ष मूल्य नपाएर २५ रुपैयाँ प्रति केजीमा विक्री गरेका कृषकले यस वर्ष भने उचित मूल्य पाउँदा उत्साहित छन् । उनीहरुले बूढी अदुवा १ सय ६० प्रति केजीमा विक्री गरे । यस वर्ष मूल्य राम्रो भएकाले बूढी अदुवा विक्रीबाट ९२ हजार आम्दानी गरिएको अलैची अदुवा कृषक समूहकी अध्यक्ष विनिश्वर कनौजेले बताइन् । उनका अनुसार अघिल्लो वर्ष ६७ हजारको मात्र नयाँ अदुवा विक्री भएको थियो । ‘पहिलो वर्ष मूल्य नहुँदा निरास बनेका थियौं, अहिले राम्रै मूल्य पाएकाले सबै बारीमा अदुवा लगाउनुपर्छ कि भन्ने सोच बनाएका छौं’ समूहकी अध्यक्ष कनौजेले भनिन् । उनले स्थानीय सरकारले अदुवा भण्डार निर्माणमा सहयोग गरिदिए आफुहरुले उत्पादन गरेको अदुवा विग्रीन नपाउने र मूल्य समेत राम्रो पाउने बताईन् । अध्यक्ष कनौंजेले कालितास नेपालले आर्थिक सहयोग गरिदिनुको साथै तालिम समेत दिएकाले आफुहरु व्यवसायिक रुपमा लाग्न प्रेरणा मिलेको बताइन् । उनले भनिन् ‘पहिले–पहिले गाउँका दिदी बहिनीहरु समूहमा बसेर अदुवा खेती गर्न मान्नुहुन्थेन, अहिले यसबाट राम्रो आम्दानी हुन थालेपछि भने सबै जना समूहमा बसेर काम गर्न उत्साहित हुनुभएको छ ।’ चापखोलाका कृषक लेखनाथ न्यौपानेले कालितासको सहयोगले नै आफुहरुले मनग्य आम्दानी गर्न सफल भएको बताए । उनले अदुवामा किरा लाग्ने समस्या हुने र उत्पादनमा समेत बेला–बेलामा समस्या देखिने भएकाले स्थानीय सरकारले विषादी र माटो परीक्षणमा सहयोग गरिदिए राम्रो हुने बताए । खेतीको अनुगमनमा पुगेकी बनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले सबै वडामा छिट्टै माटो परीक्षण गरिने बताईन् । उनले व्यवसायिक रुपमा कृषि गर्ने कृषकहरुका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । यहाँ सुरुका वर्ष कारितास नेपालको ९० प्रतिशत र कृषकहरुको १० प्रतिशत लगानीमा अदुवा खेती सुरु गरिएको थियो । पछिल्लो वर्ष भने कारितासको ८० प्रतिशत र कृषकको २० प्रतिशत लगानी रहेको कालितास नेपालका कार्यक्रम संयोजक हरिश सिहं कुवरले बताए । कारितासले कृषकहरुका लागि  विउविज र प्राविधिक सहयोग समेत गर्दै आएको छ ।

बगनासकालीका ७, ८ र ९ वडामा अदुवाको व्यवसायिक खेती हुँदै आएको कार्यक्रम संयोजक कुवरले बताए । यहाँका ३ वटा वडामा ८ कृषक समूहमार्फत १ सय ६१ कृषहरु आवद्ध रहेका छन् । कारितासले स्थानीय सरकारहरुको समन्वयमा बगनासकाली सहित जिल्लाको रिब्दीकोट गाउँपालिका र तानसेन नगरपालिकामा समेत अदुवाको कार्यक्रम गर्दै आएको छ । पछिल्लो समय कालितासले अदुवामा आर्थिक सहयोग गर्न थालेपछि कृषकहरु व्यवसायिक खेतीतर्फ आकर्षिकत हुँदै गएका छन् । बुधबार बगनासकाली गाउँपालिकाले वडा ७ मा सञ्चालिन अदुवा कार्यक्रमको अनुगमन समेत गरेको छ । अनुगमनमा पालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरि पाठक, प्रमुख प्रशासकिय अधिकृत बद्रीनाथ लम्साल, प्रवक्ता टिका थापा, ७ का वडा अध्यक्ष गणबहादुर बूढाथोकी, कारितास नेपालका कार्यक्रम संयोजक हरिश सिहं कुवर, कृषि अधिकृत जया उपाध्याय, जेटिए कृष्ण कुंवर सहित पत्रकारको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update