Shittalpati
संख्यामा हैन गुणस्तरमा अब्बल बन्दै ‘पद्य पब्लिक’

पाल्पा, सामुदायिक विद्यालयको रुपमा सञ्चालित पाल्पाको पद्य पब्लिक नमूना माध्यमिक विद्यालय पछिल्लो समय शैक्षिक गुणस्तरमा अब्बल बन्दै गएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २००४ सालमा स्थापना भएको विद्यालयले संख्यात्मक भन्दा पनि गुणस्तरमा अब्बल बन्दै गएको हो ।

पपले ७९ वर्षको यात्रामा आफुलाई जिल्लाकै प्रतिष्ठित र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । त्यसबेला धेरैले विश्वास नगरेको विषय थियो समुदायमा सञ्चालित विद्यालय भोलि राष्ट्रियस्तरमा प्रतिष्ठित र उत्कृष्ट शिक्षा दिने विद्यालयको रूपमा खडा हुनेछ तर धेरैको आकलनलाई गलत सावित गर्दै पपले ७९ औं वर्षे यात्रा तय गरेको छ । पश्चिम नेपालका जनतालाई शिक्षाको ज्योती छर्ने महान उद्देश्यले तत्कालिन श्री ३ पद्म समसेरका शासनकालमा यो विद्यालयको स्थापना भएको थियो । तल्कालिन समयमा पढ्न चाहने विपन्न विद्यार्थीहरुका लागि प्राप्त विद्यालयहरु थिएनन् । केही सीमित स्कुलहरु त खुलेका थिए, तर तिनले समयसापेक्षा शिक्षालाई अगाडि बढाउन सकेका थिएनन् । त्यही परिवेशमा स्थापना भएको पपलाई शैक्षिक विकासको आधारशिला मान्न सकिन्छ । यो विद्यालय स्थापनापछि समुदाय र निजी क्षेत्रबाट थुप्रै स्कूलहरू खुले । स्कूलतहदेखि कक्षा ११/१२ मा शैक्षिक कार्यक्रम विकासमा यस स्कुलको ठूलो योगदान रहँदै  आएको छ ।  

 

झण्डै ८ दशक लामो यात्रामा विद्यालयले देशका लागि महत्वपूर्ण जनशक्ति उत्पादन गर्न सफल भएको छ । विगतका  शैक्षिक सत्रमा विद्यार्थी संख्या वृद्धि गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको यस विद्यालयले हाल आएर शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । जसको प्रतिफल हरेक वर्ष आउने कक्षा १२ र एसइईको नतिजामा देख्न सकिन्छ । गत वर्ष कक्षा १२ मा ७६ प्रतिशत विद्यार्थी उत्कृष्ट अंक ३ दशमलव ३४ जिपिए सहित उत्र्तिण गराउन विद्यालय सफल भएको थियो । एसइईमा पनि धेरै वर्ष पहिलेदेखि  ए ग्रेड ल्याउन नसकिरहेको विद्यालयले यस वर्ष भने ३ जना ए ग्रेड र एक जना ए प्लस अर्थात् ३ दशमलव ८५ ल्याएर उत्कृष्ट नतिजा दिन सफल भएको छ । यसले पनि विद्यालय शैक्षिक गुणस्तरमा अब्बल बन्दै गएको पाउन सकिन्छ ।  गुणस्तरमा आफुलाई अब्बल बनाउँदै लगेको विद्यालयले विहीबार ७९ औं अभिभावक दिवस तथा छात्रवृत्ति वितरण कार्यक्रम गरेको छ ।  कार्यक्रममा समेत विद्यालयको मुक्तकण्ठले प्रशंसा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि  तानसेन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले जिल्लाको शैक्षिक क्षेत्रमा विद्यालयले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले ७९ वर्षे लामो यात्रा तय गर्नु विद्यालयका लागि चुनौतिको विषय भए पनि आफुलाई सफल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सक्नु नै महत्वपूर्ण रहेको उल्लेख गरे । तानसेन नगरपालिकाकी शिक्षा शाखा प्रमुख कोपीला न्यौपानेले विगतको इतिहास जोगाउने गरी काम गर्न विद्यालयलाई आग्रह गरिन् । शिक्षाविद् बुद्धिप्रसाद शर्माले विद्यालयले योजना बनाएर अगाडि बढेकोमा खुसी व्यक्त गर्दै योजना सफल बन्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका पूर्व प्रअ गोविन्द नेपाल, पूर्व शिक्षक टिकाराम बस्याल, अक्षयकोषदाताहरु रमा पन्त, युवराज पौड्याल,  पाल्पा व्यापार संघका पूर्व अध्यक्ष, बामदेव बस्याल, अखिल नेपाल राष्ट्रिय शिक्षक संघका प्रतिनिधि बासुदेव अर्याल, सेन माविका प्रअ भिमलाल बस्याल, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी, सम्मानित व्यक्तित्वहरु कासिका पराजुली, प्रेमकला थापा, विद्यार्थी जानु माया हिस्की लगायतले विद्यालयको सफलताको शुभकामना व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्करराज रेग्मीले अगामी दिनमा अब्बल जनशक्ति उत्पादन गर्ने दिशामा आफुहरु लागेको बताए । उनले भने “हामीले विद्यालयलाई थप गुणस्तरीय, व्यवसायिक र प्रविधिमैत्री बनाउने गरी योजना अगाडि सारेका छौं ।” विद्यालयको दीर्घकालीन योजना बनाएरै विद्यालय अगाडि बढेको अध्यक्ष रेग्मीले बताए । उनले सबैको सहयोग र साथका कारण नै स्कुलले ७९  औं अभिभावक दिवस मनाउन सफल भएको भन्दै सबैलाई धन्यवाद दिए । विद्यालयका प्रधानाध्यापक सन्तवीर बरालले भावी योजनाहरु सार्वजनिक गर्दै  विद्यालयको अवस्था र व्यवस्थामा सुधार गरी भौतिक वातावरणीय पक्षको सुधारका कार्य गरी वास्तविक सिकाईसँगै उत्कृष्ट नतिजा दिने, विद्यार्थी संख्यामा भन्दा गुणस्तरमा ध्यान दिई नतिजामुखि बनाउने, विद्यालयको भौतिक पक्षलाई थप आकर्षक बनाई पूर्खाले आर्जेको सम्पति र तानसेनको पुरातात्विक सम्पतिलाई जोगाई राख्ने,शिक्षक तथा कर्मचारीमा कार्य सम्पादनका पारदर्शी मापदण्ड बनाई कार्यान्वयन र प्रोत्साहन गर्ने लगायतको योजना अगाडि सारिएको बताए । सोही अवसरमा छात्रवृत्ति वितरण, शिक्षक, अभिभावक, कक्षा १२  र एसईईमा उत्कृष्ट अंक ल्याई  उर्तिण हुनेहरुलाई सम्मान समेत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्करराज रेग्मीको अध्यक्षता, शिक्षक श्रीधरकुमार उपाध्यायको स्वागत, सहायक प्रधानाध्यापक सीता अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update