कात्तिकदेखि नै बिस्तारै तापमान न्यून हुँदै गई चिसो बढ्न थालेको छ । कात्तिकलाई उछिन्दै मङ्सिरमा थप चिसो बढेको छ । पुस तथा माघका दिन त अझ चिसो हुने नै छन् । पृथ्वीको उत्तरी गोलार्धमा कात्तिकदेखि माघसम्मका दिनमा तापक्रम तल आउनु भूगोलीय बाध्यता हो । हिउँदका बेला उत्तरी गोलार्धका कतिपय भूभागमा तापमान माइनसमै जान्छ । अरू बेला गर्मीले खपिनसक्नु हुने स्थानमा समेत हिउँदका दिनमा तापमान तल झर्छ । दिनमा भन्दा रातमा अझ तापमान तल झर्ने गर्छ । तराईमा समेत शीतलहर पर्न गयो भने दिनमै पनि बसिनसक्नु चिसो बढ्छ । दिनमै चिसो हुने तराई रातमा झनै चिसो हुन्छ । हिमाल, पहाड र तराई जतासुकै भए पनि चिसोले थप कष्ट लिएर आउँछ । अझ विपन्न वर्गका निम्ति त चिसोको मौसम कहर बनेरै आउँछ । बालबालिका, वृद्धवृद्धा, रोगले सताएका मानिसका निम्ति हिउँदका दिन सहज हुँदैनन् ।
चिसो मौसमसँगै मौसमी फ्लू, रुघाखोकी,निमोनिया जस्ता समस्याहरुले बढी नै सताउने गर्छ । त्यसमाथि बालबालिका, वृद्ध तथा गर्भवती र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई जाडोको यो समयमा धेरैरोग लाग्ने गर्छ । जाडो याम सुरु भएलगत्तै धेरै रोगले सताउने भएकाले उनीहरूका लागिजाडो शत्रुबराबर हुन्छ । नेपालमा जाडो सुरु भएपछि पाँच वर्षमुनिका बालबालिकामा निमोनियाको संक्रमण बर्सेनि अलि बढी हुने गरेको छ । निमोनियाबाट बचाउनका लागि बालबालिकाको लागि खोप लगाउनुपर्छ, पोषणयुक्त खुराक पर्याप्त दिनुपर्छ र चिसोमा निक्लिन दिनु हुन्न । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने गर्दछ । यस्तो अवस्थामा खानपान र रहनसहनमा समेत उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । झोलपदार्थ खानेकुराका साथै हरियो सागपात खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्दछ । यसर्थ बढ्दो चियोबाट बच्च उच्च सजगता अपनाउन जरुरी छ ।

