Shittalpati
बुटवलमा मिडिया सम्मेलन हुँदै

बुटवल, बुटवलमा राष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले एक दिने मिडिया सम्मेलन गर्न लागेको हो । संघले प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरुको  संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्न भदौ १ गते सम्मेलन गर्न लागेको छ ।

मिडिया सम्मेलनबाट प्रदेशको विकासमा यस क्षेत्रका मिडियाहरुको भूमिका र उनीहरुको अवस्थाका विषयमा छलफल हुने संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिए । ‘सम्मेलनमा सञ्चारमाध्यमले खेल्दै आएको भूमिका, उनीहरुको संस्थागत विकासका साथै रोजगारी र पेशागत सुरक्षाका विषयमा समेत बहस र छलफल हुनेछ’ उनले भने ।

कुँवरका अनुसार सम्मेलनमा छापा माध्यम, विद्युतीय तथा अनलाइन प्रकाशन तथा प्रसारण संस्थाहरुबाट करिव १ सय २५ जना सञ्चालक तथा प्रकाशकहरुको सहभागिता रहने छ ।

मिडिया सम्मेलनमा सञ्चारमाध्यमको हक हितका साथै वृत्ति विकास र पेशागत सुरक्षाको बारेमा पनि छलफल हुने संघका उपाध्यक्ष बिष्णु भूषालले बताए । सम्मेलनमा वरिष्ठ पत्रकार युवराज घिमिरेले सम्पादकीय सन्दर्भमा तथा हिमाल खवर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितले मिडिया व्यवस्थापनका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्ने संघका सचिव माधव नेपालले जानकारी गराए ।

योगीकुटीस्थित होटल पौवामा आयोजना गरिने मिडिया सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीकुमार चौधरीले गर्ने छन् । प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेलाई पनि विशष्टि अतिथीको रुपमा निम्त्याइएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भईसकेको संघका सदस्य गौतम भूषालले जानकारी दिए । संघले यसरी मिडिया सम्मेलन गर्न लागेको यो पहिलो हो ।

यस अघि लुुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन भएको थियो । नेपाल पत्रकार महासंघले आफ्नो ६८औं स्थापना दिवसको अवसरमा गत वर्ष २ दिने मिडिया सम्मेलन भएको थियो । त्यति बेला सदस्यता शुद्धीकरण, मुलुकमा देखिएको आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानूनहरूका विषयमा बृहत् बहस र छलफल भएको थियो । सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र रिसर्चरहरूको समेत सहभागी रहेको थियो  ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update