Shittalpati
वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह

पाल्पा, अविरल वर्षाका कारण पाल्पा, गुल्मीसहित अधिकांस जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण केही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका छन् भने तराई क्षेत्रमा डुवान भएको छ । निकास नहुँदा तानसेनका सडक भएर पानी बग्दा आवागमनमा अप्ठ्यारो भएको छ । विशेष गरी विद्यालय जाने आउने विद्यार्थीहरु समस्यामा परेका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाको कारण सडकमा जमेको पानीबाट यात्रुहरुले सास्ती व्यहोरेका छन् ।

निरन्तरको बर्सातले पाल्पा र गुल्मीका ग्रामीण क्षेत्रका ठाउँ–ठाउँमा पहिरो जाँदा जनजीवन कष्टकर बनेको छ । सडक हिलाम्य भएका छन् भने केही सडकहरु अवरुद्ध रहेको हाम्रा संवदाताहरुले जानकारी दिएका छन् । ग्रामीण भेगका प्रायः सबै सडक बिग्रिएकाले आवतजावतमा समस्या आएको छ । अविरल वर्षासँगै पहिरो खस्दा आइतबार कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर–अर्बेनी सडक खण्डको ठूलाखोला भन्ने स्थानमा ढुङ्गासहितको पहिरो खसेपछि कालिगण्डकी करिडोरमा यातायात अवरुद्ध भएको हो । निरन्तरको झरीले गाउँको जनजीवन प्रभावित बनेको हर्मिचौरका हरि भण्डारीले बताए । बर्सातले गाउँका बाटोहरु बिगारेकाले बिरामीलाई अस्पतालसम्म पुर्‍याउन सक्ने अवस्था समेत नरहेको उनको भनाई छ ।

सतर्क रहन आग्रह
अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । शुक्रबाररातिदेखि भइरहेको अविरल वर्षाले लुम्बिनी, कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने स–साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा नारायणी, कर्णाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, महाकाली नदी र यसका सहायक नदीहरुको जलसतह सतर्कता आसपास पुग्न सक्ने तथा केहीमा खतराको तह आसपास वा माथि पुग्नसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, प्यूठान, दाङ लगायतका अधिकांस जिल्ला भई बहने केही स–साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान गरिएको छ । सोमबार देशभरका स–साना नदीहरुको बहाव बढ्ने तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान रहेको छ । यही साउन ३० गते लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरुमा बहाव बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । साथै भारतको उत्तरपूर्वी उत्तर–प्रदेश तथा उत्तर–पश्चिम विहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेकाले नेपालमा मौसममा बदली भई वर्षा गराएको महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update