Shittalpati
रिब्दीकोट गाउँपालिकाले घरमै पुगेर दियो आपाङ्गतालाई ह्विल चेयर 

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई घरमै ह्विल चेयर दिएको छ ।  पालिकाले कुसुमखोला देविडाँडाका मोतीबहादुर लम्तरीलाई घरमै पुगेर ह्विल चेयर दिएको हो । 

गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल र स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी लगायतको टोलीले  लम्तरीको घरमै पुगेर ह्विल चेयर हस्तान्तरण गरेका छन् ।  लम्तरी रुखमा घाँस काट्ने क्रममा लडेर घाइते भएका थिए । रुखबाट लडेर घाइते भएका लम्तरीलाई ढाडको समस्याको कारण घर वरीपरी हिडडुल गर्न, दिसा पिसावको लागि शौचालय जान समेत कठिनाइ हुँदै आएको थियो । ह्विल चेयरबाट घर वरपर हिडडुल गर्न दिसा पिसाव गर्न सजिलो हुने लम्तरीले बताए । 

गाउँपालिकाले दुःखमा परेका, विभिन्न घटना दुर्घटनाबाट अपाङ्ग भएका व्यक्तिहरुलाई जनप्रतिनिधिहरु घर घरमै पुगेर अवस्था बुझेर ह्विल चेयर, बैशाखी जस्ता  जीवनलाई साहारा हुने खालका आवश्यक सरसमान  वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । उपाध्यक्ष कान्ता अधिकारीको संयोजकत्वमा रहेको अपाङ्ग समन्वय समिति मार्फत पालिका भित्रका जनताहरुलाई सहयोग गर्ने कार्यक्रम पालिकाले गर्दै आएको छ ।  

वडाका जनप्रतिनिधीहरुले अपाङ्गहरुको घर घरमै पुगेर अवस्था बुझिकन पालिकामा सिफारिस गर्ने सोही आधारमा अपाङ्ग समन्वय समितिले निर्णय गरेर पुनः जनप्रतिनिधी मार्फत घरमा सहयोग पुर्‍याउने नागरिकको अवस्था जानकारी लिने गरिएको समितिकी संयोजक तथा पालिका उपाध्यक्ष अधिकारीले बताईन । 

पालिकाले श्रावण महिनामा वडा नंं २ देउरालीमा २ वटा, वडा नंं ५ कुसुमखोलामा ३ वटा, वडा नंं ६ मा २ वटा, वडा नंं ७ मा १ वटा र वडा नंं ८ मा १ वटा गरी ९ वटा ह्विल चेयर वितरण गरेको छ । समितिले घरवाट बाहिर हिडडुल गर्ने नसक्ने अपाङ्ग, जेष्ठ नागरिकहरुलाई घर घरमै पुगी परिचयपत्र वितरण गर्दै आएको स्वास्थ्य संयोजक सुनिल अधिकारीले बताए । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update