Shittalpati
पाल्पामा पनि मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस

पाल्पा, अन्तर्राष्ट्रिय युवा दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ :  नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने नाराका साथ शनिबार दिवस मनाइएको हो । दिवसका अवसरमा नेपाल परिवार नियोजन संघ पाल्पा र रोट्रयाक्ट क्लव अफ पाल्पाको संयुक्त आयोजनामा उत्कृष्ट युवा सम्मान तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले देशलाई समृद्धिको दिशातर्फ लैजान युवाहरु तयार हुनुपर्ने बताए । उनले युवाहरुले पनि राजनीति तर्फ सकरात्मक चासो राख्न जरुरी रहेको धारण व्यक्त गरे । खनालले स्थानीय सरकारले पनि युवा लक्षित कार्यक्रमहरु गर्न आवश्यक रहेकाले आफुले सबै स्थानीय सरकारसँग समन्वय गर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीले युवालाई स्वरोजगार बनाउने दिशामा तीनै तहका सरकारले ध्यान दिनुुपर्नेमा जोड दिए । पत्रकार नारायण न्यौपानेले स्थानीय सरकारहरु दिवसका बारेमै अनविज्ञ रहेको बताए । उनीहरुले युवा दिवस हो भन्नेसम्म थाहा नभएको तर परिवार नियोजन संघ र रोट्रयाक्ट क्लव जस्ता संस्थाहरुले दिवसका दिन कम्तीमा छलफल चलाएको धारणा व्यक्त गरे । संघका शाखा प्रवन्धक शोवाकान्त न्यौपानेले कार्यक्रम माथि प्रकाश पार्दै सीपमूलक शिक्षा, जिल्लामा युवाहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए । उनले राष्ट्रिय जनगणना २०७८ अनुसार  पाल्पामा २ लाख ४५ हजार २७ जनसंख्या रहेकोमा ४५ हजार ९ सय ९९ युवा रहेको बताए । यो कूूल जनसंख्याको १८ दशमलव ७७ प्रतिशत हो । न्यौपानेका अनुसार १५ वर्षदेखि २४ वर्षकाहरुलाई युवाको तथ्यांकमा समावेश गरिएको छ । संघका कोषाध्यक्ष माधवप्रसाद अर्यालले अधिकास युवाहरु विदेशमा जस्तो सुुकै काम गर्न पनि तयार हुने तर स्वदेशमै केही नगर्ने प्रचलनले समस्या उत्पन्न गरेको बताए । उनले उर्जावान युवाहरुलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरुले सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको बताए ।  उनीहरुले युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको गुनासो गरे ।  सोही अवसरमा युवा परिचालनमा महत्वपूर्ण  भूमिका खेल्दै आएका  परिवार नियोजन संघ पाल्पाका युवा सदस्य कमल बस्याललाई सम्मान समेत गरिएको थियो । संघका अध्यक्ष सुुशिलराज शाक्यको अध्यक्षता, रोट्रयाक्ट क्लव अफ  तानसेनका प्रेसिडेन्ट विक्रम सिंहको स्वागत, संघका सदस्य आदित्य पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । नेपालमा युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन् । सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update