Shittalpati
पचभैया फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित

पाल्पा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ बाट पाल्पाका क्रियाशिल पत्रकार देव पचभैयालाई सम्मान गरेको छ । फोनिजको स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पत्रकार पचभैयालाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

२०५६ सालदेखि पत्रकारितामा क्रियाशील पचभैया पत्रकारितामा स्थापित नाम हो । उनी दुई दशकदेखि पाल्पाको श्रीनगर एफ. एमका स्टेसन म्यानेजरको रूपमा काम गर्दै आएका छन् । तत्कालीन नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) पाल्पाका संस्थापक अध्यक्ष हुँदै २ कार्यकाल जिल्ला अध्यक्ष, फोनिज भएपछि उनले पश्चिमाञ्चल इन्चार्ज र फोनिज लुम्बिनी प्रदेश इन्चार्जको रूपमा आदिवासी जनजाति पत्रकारलाई नेतृत्व प्रदान गरिसकेका छन् । उनी हाल मगर पत्रकार संघको महासचिवसमेत हुन् । 

फोनिजले उनी सहित स्व. किसन राई (मरणोपरान्त),दोलखाका जीवन लामा र कैलालीका उन्नति चौधरी लाई पुरस्कृत गरेको छ । यस्तै फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० बाट दिलीप थापा मगर पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षको रूपमा नेपाली पत्रकारलाई नेतृत्व प्रदान गरिसकेका थापा आफैले पाँच वर्षदेखि सरोकार टेलिभिजन सञ्चालन गर्दै आएका छन् । त्यस्तै ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’ बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपाल भाषा टाइम्स दैनिक’ लाई प्रदान गरिएको छ । 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update