Shittalpati
तानसेनमा लागुऔषधसहित एक जना पक्राउ

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । तानसेन नगरपालिका–२ नारायणस्थानस्थित एक घरमा डेरा गरी बस्दै आएका सर्लाहीको इश्वरपुर नगरपालिका –१२ स्थायी ठेगना बताउने २४ वर्षीय कमल कुमार खड्कालाई प्रहरी लागुऔषधसहित पक्राउ गरेको हो ।

 खड्काले कोठाबाटै लागुऔषध लुुकाई छिपाई बेचविखन गर्दै आएको भन्ने गोप्पे सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खड्काले ग्यास सिलिण्डरमाथि चामलको बोरामा कपडाभित्र लुुकाई राखेको अवस्थामा प्रहरीले लागुऔषध फेला पारेको थियो । उनको कोठाबाट डाइजेपाम, फेनारगन र आइपीपीएल टालजेसिक लेखेको लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

प्रहरीका अनुसार एम्पुल १/१ वटा गरी ३ वटा बनाई टेपले बाँधी राखेको अवस्थामा डाईजेपाम ३१ एम्पुल, फेनारगन ३१ एम्पुल र आइपीपीएल टालजेसिक ३१ एम्पुल गरी ९३ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जनाकारी दिए । उनका अनुसार खाटमा लुुकाई राखेको अवस्थामा प्रयोग गरेको जस्तो देखिने सिररिन्ज निडलसहितको १५ थान, निडल ११ थान र प्रयोग गरेको ८ थान एम्पुल समेत फेला परेको छ । लागुऔषधसहित खड्कालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुुसन्धान अगाडि बढाइएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update