Shittalpati
अझै केही दिन वर्षा हुने

पाल्पा, अझै केही दिन वर्षा हुने बताइएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको असरका साथै ब·लादेशको उत्तरीभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका कारण पनि बदली र वर्षा भइरहेको हो ।

मनसुनको न्यूनचापीय रेखा नेपालको उत्तरतिर अवस्थित रहेकाले मनसुन सक्रिय भएको छ । मनसुन थप सक्रिय भएकाले अझै केही दिन वर्षा हुने देखिन्छ । लगातारको वर्षा भने नहुने महाशाखाले जनाएको छ । मंगलबार बिहान काठमाडौँमा भारी वर्षा भएको थियो । वर्षका कारण उपत्याका जलमग्न भएको थियो । मौसममा सुधार आउन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको हुने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update