Shittalpati
आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइदैं

पाल्पा, आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइदैं छ । नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते राष्ट्रिय भू–संरक्षण दिवस मनाउने गरिन्छ । बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउन एवं भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले वि.सं. २०३१ साल श्रावण २४ गते भू तथा जलाधार संरक्षण विभाग स्थापना भएको सम्झना स्वरुप यस दिवसको सुरुवात भएको हो । विभागको स्थापना सँगै जिल्ला स्तरमा भू–संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । साल २०३१ पछि विभाग स्थापना भएको दिन श्रावण २४ गतेलाई “भू–संरक्षण दिवस” को रूपमा मनाउने गरिएको पाइन्छ ।

नेपालको भूभाग मध्य कृषि क्षेत्रले २७ प्रतिशत र वन तथा बुट्यान क्षेत्रले ४४ प्रतिशत भूभाग ओगटेको नेपालको राष्ट्रिय भू संरक्षण नीति २०७५ मा उल्लेख छ । हाल आएर भू उपयोगको ढाँचामा तीव्र परिवर्तन आइरहेको छ । अव्यवस्थित प्लटिङ र भौतिक संरचनाहरूको अनर्गल निर्माणले खेतीयोग्य जमिनमा कमी आइरहेको छ । वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावको दृष्टिकोणले नेपाल उच्च जोखिममा रहेको छ । संवेदनशील भू–धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावहरूबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या बेहोर्नु परेको छ । हरित विकासको अवधारणा अनुरूप मानवीय क्रियाकलाप र विकास प्रकियालाई वातावरणमैत्री बनाउँदै जलवायु परिवर्तनको प्रतिकूल असरसँग अनुकूलित हुने दायित्व सृजना गरी मुलुकको समष्टिगत दिगो विकासमा जलवायु परिवर्तनले पार्ने प्रभावलाई न्यूनीकरण गर्दै वातावरण र भूमि संरक्षण गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update