Shittalpati
रामपुरमा जेष्ठ नागरिकहरुको भेला, उमेर मिल्नेहरु भेट हुँदा उत्साहित

पाल्पा, जिल्लाको रामपुरमा जेष्ठ नागरिकहरुको भेला भएको छ । जेष्ठ नागरिक समन्वय समिति रामपुर–६, पाल्पाले जेष्ठ नागरिकहरु समाजका पथप्रदर्शक रहेको भन्दै उनीहरुलाई एक ठाउँमा भेला गराएको हो । भेलामा नगरभित्रका ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु सहभागी रहेका थिए । उमेर मिल्ने जेष्ठ नागरिकहरु भेट हुँदा उनीहरु एक अर्कासँग सुख दुःख साट्ने काम गरेका थिए । भेलाले आफुहरुलाई सुख, दुःख साँट्ने चौतारी बनाएको भन्दै उनीहरु उत्साहित बने । भेलालाई सम्बोधन गर्न पुगेका रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले जेष्ठ नागरिक भगवान भएको बताए । जेष्ठ नागरिकहरुको आर्शिवाद ग्रहण गर्दै उचित हेरचाह गरेर अघि बढ्नु प्रत्येक सन्तानको कर्तव्य रहेको उनले औल्याए । नगर प्रमुख थापाले भने ‘जीवनचक्रको क्रममा हामी सबैलाई एक दिन बुढ्यौलीले छुन्छ, वर्तमानमा अभिभावकको हेरचाह गर्न सके भविष्यमा पनि आफ्ना सन्तानबाट उचित रेखदेख पाइन्छ ।’ रामपुर नगरपालिकाले जेष्ठ नागरिकहरुको लागि रामघाट धाममा जेष्ठ नागरिक ग्रामको निर्माण गरिरहेको उनले बताए । आफ्ना अनुभव साट्न तथा भजन कृतनमा रम्नका लागि  ग्रामसम्म जान र आउनको लागि नगरले बस समेत सञ्चालन गर्ने योजना बनाएको नगर प्रमुख थापाको भनाई छ ।

जेष्ठ नागरिक संघ पाल्पाका सभापति देवराज ढकालले जेष्ठ नागरिक अनुभव, ज्ञान र भोगाईका खानी भएको भन्दै नयाँ पुस्ताले जेष्ठ नागरिकहरुबाट धेरै सिक्न सक्ने धारणा व्यक्त गरे । सुकुम्वासी समस्या समाधान आयोगका पूर्व केन्द्रीय सदस्य लेखनाथ पोखरेलले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता वितरण वैज्ञानिक आधारमा हुनुपर्ने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेल, नेपाली काँग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटी अध्यक्ष यमबहादुर सुनार, राष्ट्रिय जनमोर्चा रामपुरका नगर अध्यक्ष रामप्रसाद गैरे, रामपुर नगरपालिका कार्यपालिका सदस्य शारदा आचार्य र रामपुर ६ का पूर्व वडा अध्यक्ष हुमनाथ न्यौपानेले जेष्ठ नागरिकहरुको योगदान बाटै समाज परिवर्तन सम्भव भएकाको बताउँदै हाम्रो संस्कृति र संस्कार, जेष्ठ नागरिकबाट हामीले धेरै सिक्न आवश्यक रहेको बताए । सोही अवसरमा ८४ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो । यस्तै भेलाले कृष्णप्रसाद अर्यालको सभापतित्वमा ११ सदस्य जेष्ठ नागरिक संघ रामपुर ६ गठन गरेको छ । 

संघको उपसभापतिमा हुमा देवकोटा, सचिवमा घनश्याम देवकोटा, कोषाध्यक्षमा ईन्द्रकुमारी पौडेल रहेका छन् । यस्तै सदस्यहरुमा मेधनिलाल पंगेनी, थिरलाल ढकाल, तुल्सीप्रसाद भण्डारी, नारायणबहादुर कुमाल, दामोदर भण्डारी, यज्ञप्रसाद आचार्य रहेका छन् । सल्लाहाकारहरुमा दिननाथ भण्डारी, रामप्रसाद उपाध्याय, हुमनाथ न्यौपाने चयन भएका छन् । पण्डित दिननाथ भण्डारीले पुरुषोत्तम महात्म्यको बारेमा संक्षिप्तमा जानकारी गराएका थिए । समितिका अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षता, उपाध्यक्ष हुमा देवकोटाको स्वागत र सचिव घनश्याम देवकोटाको सञ्चालनमा भेला भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update