Shittalpati
आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै

पाल्पा, आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिएको थियो । नेपाल लगायत अधिकांस देशहरुले अगस्टको पहिलो आइतबार यो दिवस मनाउने गर्दछन् ।

मित्रता दिवस अर्थात् फ्रेन्डशिप डे हलमार्क कार्डसका संस्थापक जोयस हलले शुरू गरेका हुन् । उनले नै पहिलो पटक सन् १९३० को अगस्ट २ मा फ्रेन्डशिप डे मनाउने आइडिया निकालेका थिए, तर ग्रीटिङ कार्डस इन्डष्ट्रीले व्यापारिक फाइदाका लागि यो अवधारणा ल्याएको भनेर आलोचना पनि गरिएको थियो । सन् १९५८ को ३० जुलाईमा उरुग्वेमा संसारको पहिलोपटक मित्रता दिवस मनाइएको थियो । 

वल्र्ड फ्रेन्डशिप क्रुसेड नामक संस्थाले त्यही मितिमा फ्रेन्डशिप डे मनाउने प्रस्ताव गरेको थियो । वल्र्ड फ्रेन्डशिप क्रुसेड एक विश्वव्यापी नागरिक संगठन हो र यसले मित्रताका माध्यमले संसारमा शान्तिको वकालत गर्ने गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०११ मा ३० जुलाईलाई फ्रेन्डशिप डेका रूपमा मनाइने घोषणा गरेको थियो । त्यसपछि फ्रेन्डशिप डेलाई आधिकारिक मान्यता दिइयो । 

नेपाल, भारत, लगायत एसियाका थुप्रै मुलुक र अमेरिकामा अगस्ट महिनाको पहिलो आइतबारलाई फ्रेन्डशिप डेका रूपमा मनाउने गरिएको छ । मित्रताको सम्बन्ध आदिकालदेखि चलिरहेको छ । प्राचीनकालमा पनि धेरै मानिसको मित्रता प्रसिद्ध भयो र प्रेरणाको स्रोत पनि बन्यो । भगवान् राम र हनुमानको मित्रता तथा भगवान् कृष्ण तथा सुदामाको मित्रताले अहिले पनि प्रेरणा दिन्छ । यो दिवसमा विशेषगरी मित्रताको प्रतिक स्वरुप साथीहरुको नाडीमा फ्रेन्डसिप ब्याड बाँधिदिने चलन रहेको छ । यस दिन साथीहरु जमघट भएर पार्टी गर्ने, उपहार आदान–प्रदान गर्ने पनि गरिन्छ ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update