Shittalpati
पाल्पामा अवैध औषधि  विक्रीको आरोपमा मेडिकल सञ्चालक सहित तीन जना पक्राउ

पाल्पा, जिल्लाको तानसेन नगरपालिका ७ बर्तुङ्गमा रहेको एक मेडिकलबाट अवैध औषधि विक्रीको आरोपमा मेडिकल सञ्चालक सहित तीन जना पक्राउ परेका छन् । सरस्वती मेडिकल हलकी सञ्चालक सरस्वती खनाल, छोराहरू प्रकाश र विवेक कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । मेडिकल हलबाट अबैध औषधि विक्री गरेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा मेडिकल सञ्चालक खनालको भान्सा कोठाबाट तीन सय ग्राम गाजा जस्तो वस्तु फेला परेको थियो ।

त्यस्तै प्रहरीले मेडिकलबाट अवैध औषधि फेला नपारेपछि सञ्चालक खनालको घरमा खानतलास गरेको थियो । सोही क्रममा सञ्चालक खनालका छोराहरु सुत्ने कोठामा टिनको बाकसभित्र लुकाई राखेको अवस्थामा ट्रामाडोल हाइड्रोक्लोराइड, क्याप्सुल आईपी ट्रामोल–५० ११ प्याकेट बरामद गरिएको छ । जसमा ३ हजार २ सय ९५ क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । यो क्याप्सुल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसमा मात्र बिक्री गर्न पाइन्छ । अवैध औषधि तथा गाँजा जस्तो वस्तु कानुन बमोजिम बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update