Shittalpati
आज हेपाटाइटिस दिवस मनाइँदै

पाल्पा, आज विश्व हेपाटाइटिस विरुद्धको दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्षको हेपाटाइटिस दिवसको नारा ‘एक जीवन, एक कलेजो’ भन्ने तय गरिएको छ ।

यो दिवस सन् २००८ देखि हरेक वर्ष २८ जुलाईका दिन विश्व भर मनाउन थालिएको थियो । नेपालमा भने सन् २०१० को जुलाई २८ देखि मात्र मनाउन थालिएको हो । हेपाटाइटिस रोग बारेको चेतना, यसको परीक्षण र उपचारमा सबैको पहुँच पु¥याउनु पर्नेमा दिवसले जोड दिएको छ । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । भाइरसको संक्रमणका कारण मानिसको कलेजोमा असर पुगी सुन्निनु वा काम गर्न नसक्ने अवस्थामा पुग्नु नै हेपाटाइटिस हो । हालसम्म यसका ए, बी, सी, डी र ई गरी ५ किसीमका भाइरसहरु रहेको पाईएको छ । विभिन्न किसिमका संक्रमण, असुरक्षित यौन सम्पर्क, संक्रमित आमाबाट जन्मिएको शिशुमा र सिरिन्जबाट लागु पदार्थ लिनेहरुलाई हेपाईटिस रोग लाग्ने गर्दछ ।

विश्वका ४० करोड मानिसमा विभिन्न किसिमका हेपाटाइटिसको संक्रमण रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिले विश्वका ३० लाख मानिसहरू शरीरमा भाइरल हेपाटाइटिस लिएर अनभिज्ञ भएर बाँचिरहेका छन् । हेपाटाइटिस विरुद्धको खोप धेरै महँगो नहुने भएपनि विश्वका ४८ प्रतिशत मुलुकहरूमा यसको प्रयोग हुन सकेको छैन । सन् २०३० सम्ममा हेपाटाइटिस निर्मूल गर्न सकेको खण्डमा ३ करोड ६० लाख मानिसहरूमा यो संक्रमण पुग्न पाउँदैन भने १ करोड मानिसहरूको ज्यान बचाउन सकिन्छ । सोही कुरालाई मध्यनजर गर्दै  विश्व स्वास्थ्य संगठनले आगामी सन् २०३० सम्म विश्वबाट हेपाटाइटिस उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update