Shittalpati
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी

गुल्मी, गुल्मीको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभुमी रेसुङ्गामा सञ्चालन भइरहेको पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा साउन भरी सञ्चालन हुने महोत्सवमा विभिन्न ठाउँहरुबाट भक्तजनहरुमा रेसुङ्गा पुगेका छन् ।

काठमाडौंबाट आएका पण्डित रमेश प्रसाद सुवेदीले पुरुषोत्तम मास तथा बिष्णु पुराणको कथा प्रारम्भ गरेका हुन् । विगतमा भागवत तथा कथा प्रवचनहरु हेर्न र सुन्नका लागि हुने गरेका थिए भने यस पटक भएका कथा सुन्न र ग्रहण गर्नका लागि भक्तजनहरुलाई आग्रह गरिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेसचन्द्र भुसालले बताए । 

रेसुङ्गाको प्रचार–प्रसार तथा धर्म र धार्मिक आस्था तप सुदृढ बनाउने उद्देश्यले पुरुषोत्तम माहात्म्य सञ्चालन गरिएको अध्यक्ष भुसालको भनाई छ । उनले भने, ‘धेरै मलमासहरु भएको समयमा मात्रै सञ्चालन गर्न मिल्ने भएकाले मात्रै रेसुङ्गा धाममा यो महोत्सवको आयोजना गरेका हौं ।’ कथा सुन्ने भक्तजनका लागि निशुल्क भोजनको व्यबस्था मिलाईएको  रेसुंगा संरक्षण समितिले जनाएको छ । विहान ७ बजेदेखी पाठपारायण तथा मध्यान्ह १२ बजेदेखी ४ बजेसंम्म कथा प्रवचन भइरहेको छ । साउन महिनाभर सहज र सुलभ तरिकाले यातातयात सञ्चालन गरी सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयलाई र यातायात कार्यालयलाई समेत आग्रह गरिएको छ । महामहोत्सव आयोजक समितिले पुरुषोत्तम माहात्म्य महामहोत्सवमा सहभागी हुन भक्तजनहरुमा अनुरोध गर्दै आएको छ । गत आइतबारदेखि सुरु भएको महोत्सवमा भक्तजनहरुको उत्साहजनक सहभागीता रहेको छ । गाउँ–गाउँबाट भक्तजनहरु रेसुङ्गा पुगेका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update