Shittalpati
छुट्टाछुट्टै स्थानमा डुबेर छ जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा डुवेर ६ जनाको मृत्यु भएको छ । रुपन्देही, कैलाली, बर्दिया, कास्की, दाङ लगायतका स्थानमा डुबेर ६ जनाको मृत्यु भएको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देहीको सियारी गाउँपालिका–१ सोनारेटस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका–१५ मधवलियाका भिम नारायण थारुको छोरा ११ वर्षीय अमन थारुको खोलामा डुबेर ज्यान गएको हो ।

यस्तै रुपन्देहीकै बुटवल उपमहानगरपालिका–१ गणेश मन्दीरस्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोही ठाउँमा डेरा गरी बस्ने रुकुम (पुर्वी) भूमी गाउँपालिका काँडागाउँका ३९ वर्षिय जगेन्द्र बुढामगर नुहाउने क्रममा खोलामा डुबेका थिए । डुबेका उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । उता कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवामा पनि नदीमा नुहाउने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । सोही ठाउँका ८ वर्षीया यमुना सापकोटाको घर नजिकैको काडा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–६ मा पनि नाला तर्ने क्रममा एक व्यक्तिको ज्यान गएको छ । प्रहरीका अनुसार सोही ठाउँका ६० वर्षीय बिरे कठायतको घर नजिकै रहेको नाला तर्ने क्रममा पानी डुबेर मृत्यु भएको हो । कास्कीको पोखरा महानगरपालिका–१७ पावरहाउस नजिक फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–८ का १६ वर्षीय बिवेक कुँवरको डुबेर ज्यान गएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–७ ज्ञानज्योती टोलमा डेरा गरी बस्ने रुकुम आठबिसकोट नगरपालिका–५ घर भएका दल बहादुर बुढाको छोरा ६ वर्षिय निर्माण बुढाको बाँधमा डुबेर ज्यान गएको छ । उनको सोही ठाउँस्थित ग्वारखोलामा सिचाईको बाँधमा डुबेर मृत्यु भएको हो । खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै डुबेर अशक्त भएका मृतकका आफ्नै दाइ १२ वर्षीय बिश्वास बुढाको सोही अस्पतालमा उपचार भइरहेको छ । ६ वटै घटनाका विषयमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update