Shittalpati
पाल्पाका स्थानीय सरकारका बजेट, कसका कस्ता ?

पाल्पा, देशभरका अधिकांश स्थानीय सरकारले आइतबार बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका हुन् । पाल्पामा रहेका दशवटै स्थानीय तहले पनि नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेका छन् । यहाँका दुुई नगरपालिका सहित आठ वटा गाउँपालिकाले आइतबार बजेट सार्वजनिक गरेका हुन् । कतिपयले नीति तथा कार्यक्रम र त्यसपछि बजेट सार्वजनिक गरे । केही स्थानीय तहले भने यसअघि नै नीति तथा कार्यक्रम ल्याएका थिए । बजेट सार्वजनिक गरेका पालिकामध्ये अधिकांशले कृषि, पर्यटन र पूर्वाधारलाई प्रमुख प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छन् ।

तानसेनको बजेट एक अर्ब, दुई करोड
भौगोलिक रुपले जिल्लामा सबैभन्दा ठूलो रहेको तानसेन नगरपालिकाले आइतबार आगामी आवको लागि एक अर्ब दुई करोड ८ लाख ६४ हजार ३ सय ३७ बराबरको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा ३६ करोड ३८ लाख २९ हजार कम हो ।  ‘सुव्यवस्थित पूर्वाधार, पहिचानमूलक उत्पादन र हरित वातावरणयुक्त पर्यटकीय, समावेशी, सांस्कृतिक नगर’ को नारा सहित विकास र समृद्धिको परिकल्पनालाई साकार पार्ने गरी नगर सरकारले बजेट, नीति तथा कार्यक्रम ल्याएको छ । नगरसभा तथा १३ औं अधिवेशनमा उपमेयर प्रतिक्षा गाहा सिंजालीले पेश गरेको बजेटमा पर्यटनको विकास, संस्कृति संरक्षणलाई प्राथमिकतामा राखिएको छ । यसपटक सामाजिक सुरक्षा कार्यक्रम समावेश नगरेको र संघ, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान र राजश्व बाँडफाँड शिर्षकका अनुदानहरु समेत घटेकाले बजेटको आकार घटेर आएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । चालुतर्फ ५४.६१ प्रतिशत अर्थात् ५६ करोड १४ लाख २५ हजार र पुँजीगततर्फ ४५.३९ प्रतिशत अर्थात् ४६ करोड ६६ लाख ३९ हजार ३ सय ६७ बजेट ल्याइएको प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले बताए । नगर भित्रका १४ वडामा ७ करोड बजेट छुट्याइएको छ ।

रामपुरको बजेट कृषि, पर्यटन र पूर्वाधारमा केन्द्रित
रामपुर नगर सरकारले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमितामा राख्दै आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । नगर सरकारले नगर सभा तथा १३ औं अधिवेशनमार्फत ६९ करोड ७२ लाख ५० हजार बराबरको बजेट ल्याएको हो । यो गत वर्षको तुलनामा कम हो । नगर सरकारले चालु आर्थिक वर्ष ७२ करोड ४७ लाख ९५ हजारको बजेट ल्याएको थियो ।  नगर सभामा उपप्रमुख बालकुमारी थापाले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेकी थिइन् । नगरपालिकाले आगामी आर्थिक वर्षको लागि प्रत्येक वडालाई ४२ लाख विनियोजन गरेको छ । गत वर्षका तुलनामा बजेटको आकार घटाएर ल्याइएको नगर प्रमुख रमणबहादुर थापाले बताए । बजेटले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले बताए ।

रिब्दीकोटको ५३ करोडको बजेट 
रिब्दीकोट गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५३ करोड ६८ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । १३ औं गाउँसभामा उपाध्यक्ष कान्ता अधिकारीले आगामी बर्षको लागि बजेट पेश गरेकी हुन् । उपाध्यक्ष अधिकारीले पुँजीगततर्फ २३ करोड ५६ लाख ६४ हजार र चालुतर्फ २९ करोड ४४ लाख ४ हजार बजेट विनियोजन गरेको बताइन् । यो गत वर्षको भन्दा केही बढी हो । पालिकाले चालु आर्थिक वर्षमा ५१ करोड २४ लाख २५ हजारको बजेट ल्याएको थियो । आागामी आर्थिक वर्ष आन्तरिक आम्दानीको लागि ७३ लाख ७७ हजार रकम उठ्ने अनुमान गरिएको अध्यक्ष नारायणबहादुर कार्कीले बताए । आगामी बर्षको लागि गाउँपालिकाले कृषि, पर्यटन र पूर्वधारलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताए ।

रैनादेवीमा ३ जिल्ला जोड्ने सडकलाई प्राथमिकता 
रैनादेवी छहरा गाउँपालिकाले आगामी बर्षको लागि ६५ करोड १८ लाख ५६ हजार  बजेट  विनियोजन गरेको छ । पालिका उपाध्यक्ष युवराज थापाले कुल बजेटको चालुतर्फ ४८ करोड ५८ लाख, ९ हजार र पुँजीगततर्फ १६ करोड ६० लाख ४६ हजार १४ औं गाउँसभामा पेश गरेका हुन् । यो चालुु आर्थिक वर्षको भन्दा केही बढी हो । गत वर्ष पालिकाले ६४ करोड ६९ लाख २५ हजारको बजेट ल्याएको थियो । पालिकाले आगामी बर्ष ९० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको पालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए । भौतिक पूर्वाधार, कृषि शिक्षा, स्वास्थ्यमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जानकारी दिए । गाउँपालिकाले रुपन्देहीसँग सडक सञ्जाल जोड्न सुन्दरेढुङ्गा, जुठापौवा, सालझण्डी मोटरबाटोलाई स्तरउन्नतीको लागि संघीय समपुरक र गाउँपालिकाबाट गरी २ करोड ७० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकालाई गुल्मी जिल्लासँग जोड्न संघ, प्रदेश र गाउँपालिकाबाट एकमुष्ट २ करोड, पालिकालाई अर्घाखाँचीसँग सडक सञ्जालले जोड्न धजाबान्ने, पेलावास तालपोखरा सडक स्तर उन्नतीको लागि ५० लाख, मेहलछेँढा, बुढीदमार सडक निर्माणको लागि ५० लाख, ताङसिंगल–सोमादी, सिदेश्वर मोटरबाटो स्तरउन्नतीको लागि ५० लाख विनियोजन गरेको छ ।

माथागढीको ५५ करोड
माथागढी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड २२ लाख ३ हजार ३ सय ५४ बराबरको बजेट ल्याएको छ । उपाध्यक्ष विष्णुमाया लुङचे मगरले गाउँ सभामार्फत उक्त बजेट पेश गरेकी हुुन् । पालिकाले पुँजीगततर्फ २३ करोड १९ लाख र चालुतर्फ ३२ करोड २ लाख ल्याएको छ । यो बजेट चालु आर्थिक वर्ष भन्दा केही बढी रहेको छ । अघिल्लो वर्ष ५७ करोड ७४ लाख ९४ हजार ल्याएको थियो ।

निस्दीको ६४ करोडको बजेट
निस्दी गाउँपालिकाले ६४ करोड ७ लाख ९७ हजारको बजेट ल्याएको छ । पालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले  गाउँसभामा उक्त बजेट पेश गरेकी थिइन् । पालिकाले चालु आर्थिक वर्षमा ६४ करोड ९८ लाख २५ हजारको बजेट ल्याएको थियो ।  

बगनासकालीको ४९ करोडको बजेट  
बगनासकाली गाउँपालिकाले ४९ करोड ३४ लाख ६४ हजार ५ सय २४ बराबरको बजेट ल्याएको छ । पालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँ सभामा पेश गरेको बजेट सर्वसम्मत रुपमा पारित गरिएको हो । यो चालुआर्थिक वर्षको भन्दा केही कम हो । अघिल्लो वर्ष गाउँपालिकाले ५० करोड १८ लाख २३ हजारको बजेट ल्याएको थियो ।

रम्भाको ४८ करोड बजेट
रम्भा गाउँपालिकाले ४८ करोड ८ लाख, १५ हजार ६९ बराबरको बजेट ल्याएको छ । उपाध्यक्ष राधाकुमारी श्रेष्ठले गाउँ सभामामा उक्त बजेट पेश गरेकी थिइन् । जसमा चालुतर्फ ३२ करोड ७४ लाख ६९ रुपैयाँ र पुँजीगततर्फ १५ करोड ३४ लाख १५ हजार विनियोजन गरिएको छ । चालुआर्थिक वर्षको भन्दा यो बजेट केही कम हो । पालिकाले अघिल्लो वर्ष ५० करोड २९ लाख ८३ हजार बराबरको बजेट ल्याएको थियो ।

पूर्वखोलाको ४६ करोड बजेट
पूर्वखोलामा गाउँपालिकाले ४६ करोड ६७ लाख ३ हजार ३ सय ८५ बराबरको बजेट ल्याएको छ । पालिका उपाध्यक्ष भागिरथी भट्टराईले गाउँ सभामा उक्त बजेट पेश गरेकी थिइन् । यो बजेट चालुुआर्थिक वर्षको भन्दा केही कम हो । पालिकाले चालुआर्थिक वर्ष ४८ करोड १७ लाख ७४ हजारको बजेट ल्याएको थियो ।

तिनाउको ४९ करोड बजेट
तिनाउ गाउँपालिकाले ४९ करोड ७२ लाख २४ हजारको बजेट ल्याएको छ । पालिका उपाध्यक्ष लालबहादुर थापाले उक्त बजेट गाउँ सभामा पेश गरेका थिए । यो बजेट चालु आर्थिक वर्षको भन्दा केही बढी हो । गाउँपालिकाले  अघिल्लो वर्ष ४८ करोड २० लाख ४१ हजारको बजेट ल्याएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update