Shittalpati
तानसेनले ल्यायो एक अर्ब दुई करोडको बजेट, चार विधेयक पारित

पाल्पा, जिल्लाको तानसेन नगर सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि एक अर्ब  दुई करोड ८ लाख ६४ हजार ३ सय ३७ बराबरको बजेट सार्वजनिक गरेको छ । शनिबारदेखि सुरु भएको नगरपालिकाको नगरसभा तथा १३ औं अधिवेशनमा उपमेयर प्रतिक्षा गाहा सिंजालीले उक्त बजेट पेस गरेकी हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा ३६ करोड ३८ लाख २९ हजार कम हो ।  

गत वर्ष कूल बजेटमा सामाजिक सुरक्षा भत्ता अन्तर्गत २० करोड आय र व्यय दुवैतर्फ समावेश गरिएकाले बजेटको आकार गत वर्ष तुुलनात्मक रुपमा ठूलो देखिएको थियो । सिद्धान्तः सामाजिक सुरक्षा कार्यक्रम, नगरपालिकाको प्रत्यक्ष योगदानमा नहुने हुँदा बजेटमा समावेश गर्नु नपर्ने भएकाले यसपटक सामाजिक सुरक्षा कार्यक्रम समावेश नगरेको उपमेयर सिंजालीले बताइन् । संघ र प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान र राजश्व बाँडफाँड शिर्षकका अनुदानहरु समेत घटेकाले यस पटक बजेटको आकार घटेर आएको जनाइएको छ ।

उपप्रमुख प्रतिक्षा सिंजालीले नगरसभामा प्रस्ताव गरेको उक्त बजेट सर्वसम्वत पारित भएको छ । नगर सरकारले चालुतर्फ ५४.६१ प्रतिशत अर्थात् ५६ करोड १४ लाख २५ हजार र पुँजीगततर्फ ४५.३९ प्रतिशत अर्थात् ४६ करोड ६६ लाख ३९ हजार ३ सय ६७ बजेट ल्याएको छ । उसले सामाजिक क्षेत्रमा ४४ करोड २४ लाख २१ हजार, पूर्वाधार क्षेत्रमा २७ करोड ८१ लाख १८ हजार, शुसासन तथा संस्थागत विकासतर्फ १५ करोड ५१ लाख ९९ हजार २ सय ५१, आर्थिक विकासतर्फ ११ करोड ४ लाख १४ हजार ९ सय २७, वन वातावरण तथा विपद्मा ४ करोड १९ लाख १० हजार ९ सय २६ बराबरको बजेट विनियोजन गरेको छ । नगर सरकारले सबै भन्दा बढी सामाजिक क्षेत्रमा ४३ प्रतिशत र सबैभन्दा कम वन वातावरण तथा विपद् व्यवस्थापन ४ प्रतिशत रकम विनियोजन गरेको छ । आगामी बजेटमा चालु आर्थिक बर्षका ५ वटा योजनाको ६ करोड ८० लाख रुपैयाँ दायित्व सारेको छ  । जसमा शितलपाटीदेखी हुलाकहुँदै एनआइसी बैंकसम्म ढुङ्गा छाप्ने योजना, बगाले खेल मैदान, वनदेवी बसपार्क, दरवार परिसर भत्काएको क्षेत्रमा ढुङ्गा छाप्ने काम, वडा तथा नगरका योजनाहरु रहेका छन् ।

वडामा कहाँ कति ?
नगर सरकारले आगामी बर्षको लागि वडा १ लाई ५२ लाख ९६ हजार ६ सय ४८, वडा २ का लागि ४२ लाख ३४ हजार ४०, वडा ३ को लागि ४७ लाख ३० हजार ९ सय ४६, वडा ४ मा ४३ लाख १८ हजार ५ सय ७९, वडा ५ को लागि ५२ लाख ३४ हजार ९ सय ३७, वडा ६ को लागि ५० लाख ७७ हजार ३ सय ७३, वडा ७ को लागि ५३ लाख ३४ हजार १ सय ९० बजेट विनियोजन गरेको छ । यस्तै बजेटमा वडा ८ को लागि ५१ लाख ६६ हजार ४ सय ९७, वडा ९ को लागि ४७ लाख ८७ हजार ३ सय ७२ , वडा १० को लागि ५४ लाख ८८ हजार ३ सय ८२, वडा ११ को लागि ४९ लाख १ सय ३१, वडा १२ को लागि ५१ लाख ७ हजार ३ सय २४, वडा १३ को लागि ५१ लाख ५० हजार ७ स ७२ सय ५५ र वडा १४ को लागि ५१ लाख ७२ हजार ८ सय २६ बराबरको बजेट विनियोजन भएको छ । योसँगै नगर भित्रका १४ वडामा ७ करोड बजेट छुुट्याइएको छ । नगरपालिकाले यस बर्ष पनि टुक्रे ५० हजारका योजनाहरुलाई प्राथमिकतामा राखेको छ । संघको समपुरक कार्यक्रम अन्र्तगत पोलधारा, आपटारी, ओमपार्क सडक स्तरउन्नतीको लागि १ करोड २० लाख, बतासेडाँडा चण्डी भञ्ज्याङ्ग, भुल्के जोर्ते सडक निर्माणको लागि १ करोड  विनियोजन गरेको छ । प्रदेश समपुरक कार्यक्रम अन्तर्गत राधे राधे जाने बाटो ढल व्यवस्थापन तथा जिपपार्क निर्माणको लागि ६० लाख, प्रभास काजिपौवा सडकको लागि ६० लाख, होलाङ्गदी धारा तथा ढल व्यवस्थापनका लागि ६० लाख, सल्लेरीडाँडा रावलटोल घुनाघाट सडकको लागि ६० लाख, भालेवास कोकल पिपलडाँडा सडकको लागि ६० लाख छुट्याइएको छ ।

चार विधेयक पारित
१३ औं नगरसभाले सार्वजनिक महत्वका चार विधेयक सर्वसहमत रुपमा पारित गरेको छ । नगरसभाको आइतबार भएको दोस्रो बैंठकले आर्थिक विधेयक २०८०, विनियोजन विधेयक, फोहोरमैला व्यवस्थापन विधेयक र साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन विधेयक सर्वसहमत पारित गरेको हो । सभामा आर्थिक समितिका संयोजक हेमन्तराज शाक्यले आर्थिक विधेयक, उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले विनियोजन विधेयक, फोहोरमैला व्यवस्थापन समितिका संयोजक सुनिलकुमार बस्यालले फोहोरमैला व्यवस्थापन विधेयक, साझेदारी व्यबस्थापन समितिका संयोजक बाबुरत्न शाक्यले साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन विधेयक बहुमतले पारित गरियोस् भनि प्रस्तुत गरेका थिए । 

यस्तै लेखा समिति संयोजक राजेश कुमार अर्यालले लेखा समिति प्रतिवेदन र उप प्रमुख प्रतिक्षा गाहा सिंजालीले न्यायिक समितिको प्रतिवेदन नगर सभामा पेस गरेकोमा सर्वसहमतिले पारित भएको छ । सभामा प्रस्तुत विधेयक तथा प्रतिवेदनमा नगर सभा सदस्यहरुले सुझाव तथा जिज्ञासा राखेका थिए । नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा नगरसभा भएको थियो ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update