Shittalpati
ऐतिहासिक भगवती जात्रामा दिईने विदाको पाल्पामा स्वागतसँगै दीप प्रज्वलन

रामचन्द्र रायमाझी
पाल्पा । नेपालले अंग्रेजलाई युद्वमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा तानसेनमा निकालिने भगवतीको जात्राका दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । प्रदेश पाँचको बुधबार बसेको मन्त्रीपरिषद्को बैंठकले उक्त निर्णय गरेको हो । विश्वको भू–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश साम्राज्यवादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा २ सय १ वर्ष अघिदेखि विजय उत्सवका रुपमा यो भगवती जात्रा निकालिदै आइएको छ । जिल्लामा जात्राका दिन सरकारी तवरबाट सार्वजनिक विदा दिनुपर्ने आवाज उठिरहे पनि विदा दिइने गरेको थिएन । प्रदेश सरकारले भने राष्ट्रिय गौरवको रुपमा रहेको भगवती जात्रालाई सार्वजनिक विदा दिने निर्णय गरेको मुख्य मन्त्रीका पे्रस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

पाल्पा–बुटवल जितगढी युद्व नेपालको राष्ट्रियता स्वाधिनता र सार्वभौमिकतासँग जात्रा गासिएकाले केन्द्रिय सरकारबाट राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने जिल्लावासीको माग रहेको छ । प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेसँगै सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले खुसी प्रकट गरेका छन् । प्रदेश सरकारले भए पनि राष्ट्रिय महत्वका साथ जात्रालाई हेरेकोमा जिल्लावासीले सकरात्मक रुपमा लिएका छन् । प्रदेश सरकारले ऐतिहासिक पर्वको रुपमा रहेको जात्रालाई सार्वजनिक विदा दिइनु आफैमा स्वागत योग्य रहेको तानसेनका स्थानीय तथा नेपाली काँग्रेसका नेता राजेन्द्र गोपाल सिंले बताए । उनले भने‘सार्वजनिक विदासँगै ऐतिहासिक महत्व बोकेको जात्राको व्यवस्थापनमा पनि प्रदेश सरकाले ध्यान दिनुपर्दछ ।’ अबका दिनमा नत नेपालले अग्रेंजसँग युद्व लड्न सक्छ, नत जितको कल्पना गर्न सक्छ, यस्तो ऐतिहासिक महत्वको विषयलाई केन्द्रिय सरकारले पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए । रणउजेश्वरी भगवती मन्दिर व्यवस्थापन समितिले प्रदेश सरकारको निर्णयको स्वागतमा बुधबार साँझ मन्दिरमा दीपावली समेत गरेको छ ।

भगवती जात्राको ऐतिहासिक पक्षलाई महत्व दिएर प्रदेश सरकारले गरेको विदा दिने निर्णयको रणउजेश्वरी भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले स्वागत गर्दै खुसी व्यक्त गरेका छन् । उनले भने‘राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षार्थ नेपालीहरुले अंग्रेजसँगको युद्धमा विजय हासिल गरेको खुसीयालीमा मनाउन थालिएको भगवती जात्रालाई प्रदेश सरकारले मान्यता दिइनु सिंङ्गो नेपाली र जिल्लावासीको खुसीको कुरा हो ।’ नेपालको राष्ट्रियतासँग जोडिएको विजयोत्सवलाई राष्ट्रिय पर्वको रुपमा समेत केन्द्रिय सरकारले मान्यता दिईनुपर्ने अध्यक्ष उदयले बताए ।


प्रदेश सरकारले यो सँगै २०७७ सालमा छ दिन विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री कार्यालयका अनुसार ति छ दिनको विदा ४ दिन प्रदेशभरीका लागि एउटै रहेको छ भने एक दिन स्थानीय तहले दिन पाउने छन । अर्को एक दिन भने निश्चित पर्व मनाउने समुदाय र ठाउँका लागि तोकिएको छ । त्यसरी छुट्याइएको विदामा बकरईद, माघ १ गते र २ गते माघी विदा, फागुन ३ गते प्रदेश स्थापना दिवस रहेका छन् । त्यसैगरी स्थानीय तहको निर्णयबाट हुने गरी एक दिनको विदा छुट्याइएको छ । निश्चित पर्व मनाउने समुदाय र ठाउँलाई केन्द्रित गरेर १ दिन विदा छुट्याइएको छ । रुकुम रोल्पामा मनाइने भूमे पूजा, थारु समुदायलाई लक्षित गरी बडकवा अतवारी पर्वलाई लक्षित गरि विदा छुट्याइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update