Shittalpati
पाल्पामा पनि मनाईयो राष्ट्रिय एकता दिवस

पाल्पा,२ सय ९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पाल्पामा पनि विविधि कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा आइतबार जिल्लाका विभिन्न संघ संस्थाहरुले छुट्टाछुट्टै कार्यक्रम गरी दिवस मनाएका हुन् । विश्व हिन्दु महासंघ र राप्रपा संयुक्त, पाल्पा, शिवसेना नेपाल रामपुर, ॐकार परिवार, विश्व हिन्दु महासंघ नेपाल रामपुर, हिन्दु जागरण नेपाल लगायतका संघ सस्ंथाहरुले विविध कार्यक्रम गरी दिवस मनाएका छन् ।

विश्व हिन्दु महासंघ र राप्रपा संयुक्त, पाल्पाको संयुक्त आयोजनामा तानसेनको शित्तलपार्टीमा भएको कार्यक्रममा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यापर्ण गर्दै उनको योगदानको प्रशंसा गरिएको थियो । त्यस्तै अखण्ड हिन्दु अधिराज्य नेपाल बैद्धिक सनातन हिन्दु धर्म र देशको रक्षा गरौं, बैद्धिक कालिगण्डकीको सभ्यता जोगाऔं हिन्दु सनातन राष्ट्र बनाऔं भन्ने नारा सहित रामपुरमा धर्मसभा भएको हो । शिवसेना नेपाल रामपुर पाल्पा, ॐकार परिवार, विश्व हिन्दु महासंघ नेपाल हिन्दु जागरण नेपालले बेझाँड बजारमा १ सय ८ पण्डित मार्फत स्वस्ती वाचन गराई भजनकृतन र प्रवचन सहित संयुक्त रुपमा कार्यक्रम भएको थियो । धर्म सभालाई सम्बोधन गर्दै प्रदेश ५ का प्रदेशसभा सदस्य युवराज खनालले धर्मले संस्कारसँगै जिउन सिकाउने बताए ।

उनले कालीनदी आफैमा पवित्र रहेको भन्दै यहाँको सभ्यता र धार्मिक सम्पदाको संरक्षणका लागि लाग्नुपर्ने बताए । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष तथा धर्म अध्यता चैतन्य कृष्ण महाराजले अहिलेको संसारमा मानवता बचाउन पूर्वीय ज्ञान र विज्ञान चाहिएको बताए । उनले संस्कार र संस्कृतिलाई विज्ञानसँग जोडेर अघि बढ्न सके मात्र सहज रुपमा अघि बढ्न सकिने बताए । उनले कालीगण्डकी र रामपुर क्षेत्रलाई विभिन्न पुराणहरुमा उल्लेख गरिएको भन्दै बैदिक सनातन धर्मले सबैलाई मानव बन्न हौस्याउने बताए । कार्यक्रममा शिवसेना नेपालका जिल्ला अध्यक्ष ओमप्रकाश पाण्डे, नेपाल निम्वार्कपिठ केन्द्रीय कार्यालय कलादी धामका पिठाधिश गोपालशरण महाराज, ॐकार परिवारका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम पाण्डे, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका सरस्वती दिदी लगाएतले पृथ्वीनारायण शाहको पराक्रम र हिन्दु धर्मको बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

शिव सेना नेपाल रामपुरका प्रवक्ता राजेन्द्र ढकालले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी गराएका थिए । शिवसेना नेपाल रामपुरका संयोजक हुमबहादुर शाहीको अध्यक्षता, शिवसेना नेपालका सहसंयोजक टेकबहादुर क्षेत्रीको स्वागत र लेखानाथ शर्मा मरासिनीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update