पाल्पा, ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ विविध कार्यक्रम आयोजना गरी मंगलबार मनाइंदै छ । नेपालमा २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । नेपालमा कम्प्युटर एशोसिएसन नेपाल (क्यान)को सन् १९९२ मा स्थापना भयो । त्यही स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालिएको हो । नेपालमा पनि आइसिटीसँग सम्बन्धित संघसंस्थाहरुले यो दिवस मनाउने गरेका छन् ।
पाल्पामा पनि कम्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघ पाल्पाले विविध कार्यक्रम आयोजना गरी दिवस मनाउँदै आएको छ । उसले यस वर्ष साताव्यापी कार्यक्रमको आयोजना गरेको छ । क्यानले पहिलो दिन मंगलबार प्रभातफेरी कार्यक्रम गरेको छ । तानसेन दरबारबाट सुरु भएको र्याली सहितको प्रभातफेरीले मखनटोल, सिल्खानटोल, लहरेपिपल, भीमसेनटोल,नारायणस्थान,असनटोल हुँदै सित्तलपाटीमा पुगेर सभामा परिणत भएको थियो ।

क्यानले पत्रकार सम्मेलनमार्फत साताव्यापी कार्यक्रमका बारेमा जानकारी गराएको छ । बैशाख २० गते लुम्विनी प्रदेशस्तरीय सुशासन र समृद्धिका लागि सूचना प्रविधी र साइवर सुरक्षा विषय अन्तरक्रिया कार्यक्रम गर्ने, बैशाख २१ गते सूचना र प्रविधी साइवर सचेतना लागि विद्यालयहरुमा आइसीटी क्लव गठन गर्ने, बैशाख २२ गते गौतम बुद्ध मुटु अस्पताल तानसेनका विरामीहरुलाई फलफूल वितरण गर्ने, बैशाख २३ गते तानसेनको टुँडीखेलमा रक्तदान कार्यक्रम गर्ने र अन्तिम दिन बैशाख २४ गते साताव्यापी कार्यक्रमको समिक्षात्मक बैठक गर्ने कार्यक्रम रहेको क्यान पाल्पाका अध्यक्ष थमन बहादुर सारुले बताए ।
क्यानले सरकारसँग मिलेर सूचना प्रविधि दिवस मनाउँदै आएको क्यान महासंघ लुम्विनी प्रदेशका सदस्य महेश शर्मा आचार्यले बताए । क्यान महासंघले गर्दै आएको सूचना प्रविधी दिवसलाई केन्द्र सरकारले नै आधिकारिक रुपमा मे २ लाई मनाउन थालेको आचार्यले बताए । उनले सरकारले क्यान महासंघसँग मिलेर जिल्ला, पालिकासम्म यो दिवस मनाउन लागिएको बताए । पत्रकार महासंघ पाल्पाका सदस्य कृष्ण पोखरेल, स्वतन्त्र पत्रकार संघ पाल्पाका उपाध्यक्ष भविन्द्र गौतम लगायतले सूचना प्रविधि अहिले अत्यावश्यक सेवाको रुपमा अगााडि आएको सूचना प्रविधि विना जीवन नै चल्न नसक्ने, जीवन अपुरो अवस्थामा आएसँगै चुनौती र खतरा पनि बढ्दै गएकाले सुरक्षित सूचना प्रविधी बनाउन लाग्नु पर्नेमा जोड दिए । क्यान महासंघ पाल्पाका अध्यक्ष थमन बहादुर सारुको अध्यक्षतामा भएको पत्रकार सम्मेलन महासंघका पूर्व अध्यक्ष भोजराज भट्टराईको स्वागत र सचिव सुदिप पौडेलको सञ्चालनमा भएको थियो ।


-1762576335.jpg)