Shittalpati
किन पुराना दलप्रति बढ्दै छ वितृष्णा ?

दुर्गा प्रसाद अर्याल
संसदीय व्यवस्थामा राजनीतिक पार्टीहरू अपरिहार्य संस्था हुन् । तर समयको बहावसँगै राजनीतिक दलहरूमाथि पनि नयाँ–नयाँ चुनौतीहरू थपिदै गएका छन् । संगठन गर्ने शैली, पद्धति, मुद्दा र काममा नयाँ परिवर्तन हुनुपर्ने भए पनि त्यसो हुन सकिरहेको छैन् । उन्नाइसौँ शताब्दीका राजनीतिक संगठनहरूभन्दा बीसौँ शताब्दीका संगठनहरू धेरै मानेमा फरक हुन पुगे । बीसौँ शताब्दीमा गरिएका राजनीतिक अभ्यासभन्दा एक्काइसौँ शताब्दीका अभ्यास झन् भिन्न हुँदै छन् । सहभागिताका हिसाबले, समाजमा स्वीकार्यताका हिसाबले पनि । धेरै पुराना दलहरू, जसले समयको धारलाई चिन्न नसक्दा विस्थापित हुने अवस्था पुगेका छन् । विचारधारात्मक हिसाबले क्रान्तिकारी छलाङ मार्ने नयाँ दलहरू राजनीतिमा स्थापित हुन थालेका छन् । तिनले पुरानो राजनीतिक माहोललाई विस्थापित गरेर नयाँ संस्कार, संस्कृतिसहितको नयाँ माहोल खडा गर्ने प्रयासमा छन् ।

नेपालको सत्ता राजनीतिमा विभिन्न राजनीतिक दलहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा वि.स. २००७ सालको प्रजातन्त्र प्राप्ति पछि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कुरामा दुईमत रहदैन तर यति धेरै लामो समय बेथित भईरहदा साशन व्यवस्था र सरकार सञ्चालनमा भने स्थिरता देखिदैन । यसको बदलामा पटक–पटक साशन व्यवस्था र सरकार परिवर्तनको दर तिव्र रुपमा भएको देखिन्छ भने यहि कारण पछिल्लो समय परम्परागत पुराना राननीतिक दलहरुप्रति जनतामा वितृष्णा उत्पन्न भएको हो की ? अनुमान लगाउन सकिन्छ । यस पक्षलाई बढवा र प्रमाणित गर्ने कार्य पाँच महिनाको अन्तरालमा भएका दुई निर्वाचनहरुले गरेको देखिन्छ । यसका साथै यहि वैशाख १० गते भएको उप निर्वाचनबाट नेपालका पुराना मानिने राजनितिक दललाई चुनौती दिदै भर्खर भर्खर स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले भारी मतका साथ दुई स्थानमा निर्वाचन परिणाम आफ्नो अनुकुलमा पारे पछि राजनीतिक क्षेत्रमा एउटा बहसको विषय वनेको देखिन्छ । यसका पक्ष तथा विपक्षमा आवाजहरु उठ्न थालिसकेको छ । पुराना र आफुलाई स्थापित मानिने दलहरुले आफुलाई दरिलो प्रतिस्पर्धीको रुपमा पनि स्थापित गर्न नसक्दा कतै यी दलहरु प्रति जनताको विश्वासमा ह्रास आएको त हैन ? भन्ने प्रश्न उठेको देखिन्छ भने कतै नयाँले केहि गर्छ की एकपटक हेरौन भन्ने आशले यो जनमत प्राप्त भएको हो भन्ने बहस पनि चलेको देखिन्छ । भावी दिनमा नेपालको राजनीति कसरी जान्छ त्यो समयले नै देखाउला तर पुराना राजनीतिक दलप्रति जनताको आस्था र भरोसामा भने केहि कमि आएको अनुमान भने लगाउन सकिने देखिन्छ । यसै विषयमा केन्द्रीत रहेर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

केही होला की भन्ने आसै आसमा नेपाली जनताले दशकौं समय बेतित गरिसके ,पुस्ता हस्तान्तरण भै सक्यो तर समय समयमा विभिन्न व्यवस्था परिवर्तन गरी नयाँ व्यवस्था स्थापना गर्नका लागि राजनीतिक दलका नेतृत्वलाई निस्वार्थ साथ पनि दिए तर साशन व्यवस्थामा आएको परिवर्तनले जनताको जीवनस्तर र दैनिकीमा हैन सरकार परिवर्तनको दरमा वृद्धि आएकै एक मुख्य कारण पुराना राजनीतिक दलहरुप्रतिको आर्कषण क्रमश घट्दै गएको अनुमान लगाउन सकिन्छ । यति मात्रै कहाँ हो र ? पुराना राजनीतिक दलका सत्ता केन्द्रीत क्रियाकलापबाट वाक्क दिक्क भएर विभिन्न समयमा नयाँ–नयाँ राजनीतिक दलहरुलाई राम्रो जनमत दिएको प्रसस्त उदाहरण भेटिन्छ । तत्कालिन नेकपा माओवादी, राप्रपा नेपाल, मधेशमा स्थापित राजनीतिक दलहरु हुँदै पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीलाई छोटो समयमै जनताले अनुमोदन र विश्वास गरेको देखिन्छ ।

विगतलाई हेर्दा भन्न सकिन्छ कि जनताको भावना विपरीत कार्य गरेमा स्वतन्त्र पार्टीको अवस्था पनि तत्कालीन माओवादी, राप्रपा नेपाल र मधेशवादी राजनीतिक दलकै अवस्था नहोला भन्न सकिदैन् । विगतमा राजनीतिक दलको इतिहास हेरेर अगाडि बढ्न र जन आस्थालाई कायमै राख्न जनमत प्राप्त नयाँ राजनीतिक दललाई चुनौती पनि रहेको देखिन्छ । अब जनताको भावना विपरीत जान नयाँ तथा पुराना राजनीतिक दलहरुलाई छुट भने कतै देखिदैन् भने गर की मरको अवस्थामा नेपालका राजनीतिक दलहरु पुगेको देखिन्छ । अब भाषण र मिठा आश्वासनले जनताको मन जित्ने दिन गएको देखिन्छ किनभने नेपाली जनतामा राजनीतिक चेतना तिव्र रुपमा विकास भएको देखिन्छ । सच्चिने की सकिन्ने राजनैतीक दलको हातमा भन्ने आवाज पनि सुनिन थालि सकेको छ भने पुराना राननीतिक दलहरुमा रुपान्तरणको बहस पनि चल्न थालेको देखिन्छ ।सत्ता केन्द्रीत राजनीतिमा रमाई देशमा तिव्र रुपमा सरकार परिवर्तनको दर बढाएको, राजनैतिक अस्थिरता उत्पन्न गराई देशमा गरीवी हटान र जनताको जीवनस्तरमा सुधार गर्न नसकेका पुराना राजनीतिक दल माथि गम्भिर आरोप लाग्ने गरेको छ । यसका साथै देशमा वेथिती, भष्ट्राचार बढ्दै जानु तथा सुशासन स्थापित गर्न नसक्नुको मुख्य कारणको रुपमा पनि यसलाई लिने गरेको देखिन्छ ।

यसका साथै नातावाद र परिवारवादमा रमाएको, समानुपातिक तथा समावेशीलाई आफु अनुकुल प्रयोग गरेको, राज्यको नयाँ संरचना आफ्ना नेता कार्यकर्ता व्यवस्थापनका लागि बनाएको, राष्ट्रियता र विदेश नीतिका पक्षमा स्थिरता र स्पष्ट दृष्टिकोण नदेखिएको, सार्वजनिक ऋणको अंश अत्याधिक मात्रामा बढाउदै लगेको ,रोजगारका अवसर सिर्जना गरी युवा विदेशीने दरमा कमि ल्याउन नसकेको , संवैधानिक अंगहरुलाई आफु अनुकुल प्रयोग र तीनका कार्यमा हस्तक्षेप गरेको, भागबण्डाको राजनीतिलाई आत्मसाथ गरेको, राज्यको स्रोत साधन प्रयोगमा ध्यान नदिएको, बजेट तथा विकासका कार्यक्रमहरुलाई शक्तिका आधारमा बाँडफाड गरी समानुपातिक विकास गर्न नसकेको, विदेशी हस्तक्षेप अत्याधिक मात्रामा बढाउदै लगेको तथा राष्ट्रहितका पक्षमा अन्तर्राष्ट्रिय निकायहरुमा दरिलो उपस्थिती जनाउन नसकेको जस्ता प्रश्नहरु उठाएको देखिन्छ  । यहि कारण व्यवस्था परिवर्तनसँगै विभिन्न आशा र भरोषामा पुराना राजनीतिक दललाई अनुमोदन गरेका जनतामा निराशा उत्पन्न भएको देखिन्छ भने नयाँ राजनीतिक दलप्रति आशा तथा भरोषा बढाउँदै लगेको देखिन्छ । पुराना राजनीतिक दलहरुले विकास र जनताको जीवनस्तर सुधारका लागि प्रयास नगरेका पनि होइन । केहि त्रुटी र बेथिति बाहेक विकास र सुधारका प्रयासहरु प्रसस्त मात्रामा देखिन्छन् । शिक्षा तथा स्वास्थयमा अत्याधिक राज्यले लगानी गरेको देखिन्छ । यहि कारण पढ्न नपाउने , उपचार गर्न नपाउने तथा भोकभोकै मर्नु पर्ने अवस्थाको अन्त्य भएको देखिन्छ, खानेपानी ,विद्युत ,सञ्चार र सडक विस्तारमा तिव्रता पाएको देखन्छ तर बेला बेलामा सत्ता केन्द्रीत राजनीतिमा दलहरुले आफुलाई केन्द्रीत गर्दा, एक आपसमा आरोप प्रत्यारोप गर्दा, जनताको भावना विपरीतका निर्णय गर्दा , अधिक राजनीतिक ढाक छोप गर्दा यी सबै कुरा जनताबाट ओझेल पर्ने गरेका र राजनीतिक दलप्रति वितृष्णा उत्पन्न भएको अनुमान लगाउन सकिन्छ ।

पछिल्लो समय नेपालको राजनीतिमा सञ्चार माध्यम ,सामाजिक सञ्जालहरुको पनि महत्वपूर्ण भूमिका रहेको देखियो । नयाँ राजनीतिक दल र युवा पुस्तालाई यी माध्महरुले खुलेरै प्रोत्साहन गरेको देखियो भने परिणाम पनि सकरात्मक नै आएको देखिन्छ । पुराना राजनीतिक दलहरुले नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्न नसक्नु, वृद्ध र शारीरिक रुपमा कमजोर मानिसहरुको नेतृत्वमा बाहुल्यता रहेकाले जनताको मन जित्न तत्काल यस पक्षमा सुधार गर्नु जरुरी देखिन्छ । अब परम्परागत शैलीमा पाटी चलाउने प्रवृत्तिलाई त्यागेर आफुलाई समय अनुसार रुपान्तरण गर्नु आवश्यक देखिन्छ । इतिहास बोकेका पुराना राजनीतिक दलको जनता र देशका लागि कुनै भूमिका नै थिएन भनि प्रश्न चिन्ह खडा गर्न भने पक्कै सकिदैन् । आज प्राप्त भएका उपलब्धिहरुका लागि ती दलहरुको भूमिका उल्लेख्य नै देखिन्छ तर राजनीतिक दलका नेतृत्वले खाली त्यही पुराना कुराको भजन गाएर आफुलाई अब्बल सावित गर्ने प्रयास गर्नु भने कमजोरीको रुपमा रहेको देखिन्छ । यसका साथै समय र जनताको चाहना अनुसार आफ्नो राजनीतिक दललाई रुपान्तरण गर्न सकिएन भने आजका साना दलको अवस्थामा ठूला दलहरु नआउलान भन्न सकिदैन । त्यसैले दलले एक अर्कालाई आरोप प्रत्यारोप लगाएर आफु र आफ्नो दललाई बचाउ गर्ने शैलीको अन्त्य गर्न जरुरी देखिन्छ । यसका साथै अर्को दललाई नराम्रो र असफल बनाएर आफ्नो दललाई राम्रो र सफल बनाउने प्रवृत्तिमा सुधार गर्न जरुरी छ । यसो भएमा पुराना राजनीतिक दलहरु प्रति जनतामा विकास हँुदै गएको वितृष्णाको अन्त्य गर्न सकिने सम्भावना भने जीवितै रहेको देखिन्छ ।

(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update