
माता जान्दवीदेवी खड्का क्षेत्री र पिता लक्ष्मीबहादुर खड्का क्षेत्रीको सुयोग्य सुपुत्रीको रूपमा लता के.सी.को जन्म वि.सं.२०१७ साल जेष्ठ २७ गते भएको हो । बी.ए. उत्तीर्ण गरी वि.सं.२०५२ सालदेखि शिक्षण पेशालाई अगाली वि.सं.२०७२ मा सेवा निवृत्त हुनु भएकी लता के.सी नेपाली साहित्यको आकाशमा सशक्त नारी हस्ताक्षरको रूपमा उपस्थित हुनु भएको छ ।
विद्यार्थी जीवनदेखि नै साहित्य सिर्जनामा समर्पित लताजीको पहिलो प्रकाशित रचना ‘अन्तद्र्वन्द्व’ कथा हो । यो मोरङ कलेजको वार्षिक मुखपत्र प्रकाश (२०३९) मा लिपिवद्ध रहेको छ । पहिलो प्रकाशित लघुकथा ‘दुर्घटना’ हो र यो लोकभावना, अङ्ग ४६ मा रहेको छ ।’ चोटदेखि मृत्युसम्म ‘लघुकथासंग्रह (२०७७) ‘दृश्य’ लघुकथासंग्रह (२०७८)’ सफलता’ लघुकथासङ्ग्रह (२०८०) प्रकाशित गरिसकेकी सिद्धहस्त लघुकथाकार लता के.सी. को चौथो प्रकाशित लघुकथा संग्रह ’पाहुर’ (२०८१) हो । पाठशाला लघुकथा भाग १,२,३ र ४ तथा हाम्रो लघुकथा पाठशाला स्मारिका (२०७६–२०७९) मा समेत जिम्मेवारीपूर्वक संयुक्त सप्पादकको भूमिका निर्वाह गरि सक्नु भएकी लताजी हाम्रो लघुकथा केन्द्र नेपालको संस्थापक अध्यक्ष हुनुहुन्छ ।
लघुकथाको क्षेत्रमा योगदान पुर्याए बापत उनले क्यालगरी अन्तर्राष्ट्रिय नेपाली लघुकथा प्रतियोगिता (२०७७) मा दोस्रो स्थान, लघुकथा समाज नेपालबाट पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान (२०८०) र नारी स्रष्टा समाजबाट नारी स्रष्टा सम्मान (२०८१) प्राप्ति गरिसकेकी छन् । लता के.सी. द्वारा लिखित एवं हाम्रो लघुकथा केन्द्र नेपालद्वारा प्रकाशित लघुकथा सग्रह ’पाहुर’ (२०८२)का लागि डा. शेखर कुमार कोइरालाले प्रकाशकीयमा लेख्छन् ,“सामाजिक विषयलाई टपक्क टिपेर कथा लेख्ने के.सी.का लघुकथामा उनले देखेको संसारको समस्या छ । आफैले महसुस गरेका कुरालाई टपक्क टिपी कथा लेख्ने उनको प्रवृत्ति छ । उनको पाहुर लघुकथासङ्ग्रह पढेपछि घटेका घटनाका बारेमा पाठकले जान्ने र अझ गम्भीर भएर खोज्ने जिज्ञासा प्राप्त गर्ने छन् ।” लघुकथा पाहुरका लागि शुभकामना लेख्दै हाम्रो लघुकथा केन्द्रका संरक्षक एवं व्यवस्थापक राजु क्षेत्री अपुरो भन्छन्, “मान्छेमा इच्छाशक्ति भयो भने के गर्न सक्दैन भन्ने कुराको उनी ज्वलन्त उदाहरण हुन् । यो ६ वर्षको अवधिमा Þयाट्रिक कृतिसहित अर्को थप कृति लेख्नु र प्रकाशन गर्नु कुनै चानचुने कुरा होइन ।
नेपाली लघुकथाको इतिहासमा व्यक्तिगत र संस्थागत रूपमा लघुकथालाई उचाइमा पुर्याउन उनले खेलेको भूमिकाको जति नै चर्चा गरे पनि कम हुन्छ ।” आफ्नै गन्थन शीर्षक दिइ लेखकीय अभिव्यक्तिमा कथाकार भन्छन्,“लघुकथा पठन र लेखनको लत लाग्दै जाँदा फेरि मेरा पाठकका लागि चौथो लघुकथाकृति पाहुर लिएर उपस्थित भएकी छु । यस कृतिमा समावेश भएका ६३ वटा लघुकथा २०८०/८१ सालमा लेखिएका हुन् । प्रायजसो लघुकथा फेसबुक वालमा प्रेषित भएका छन्, विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् ।” कृतिभित्र अठोट, समाधान, मन, उपदेश, जुक्ति, गलत, बेपत्ता, प्रयोग, विभेदना, विरोध, नियत, बाध्यता, चर्चा, स्पर्श, अवस्था, सम्बन्ध, तालमेल, जिज्ञासा, उत्तीर्ण, आक्रान्त, अभियान, हप्की, माया, स्वप्नलोक, प्रेमालाप, पद्धति, लोकापवाद, जलन, अबुझ, पिर, जोहो, हठ, बन्देज, निर्लज्ज, सफाइ, माग्ने, रमाइलो, छुट, निर्णय, दोषी, पछुतो, सुझाव, परिणाम, उपहार, त्रिशक्ति, पीडा, राजनीति, द्वन्द्व, प्रतिस्पर्धा, उत्थान, के गर्ने, भय, आचारण, साथी गुरुमन्त्र, नाम, चिन्ता, दृष्टिदोष, प्राथमिकता, गन्थनमन्थन, बराबर, आतङ्क र अपच शीर्षकमा विभिन्न ६३ वटा लघुकथाहरू संग्रहित रहेका छन् । ति कथाहरु पठनीय रहेको बताइएको छ ।