Shittalpati
जनसंख्या दिवसको सान्दर्भिकता

विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइँदैछ । जनसंख्यासँग सम्बन्धी समस्याबारे जानकारी तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गरी हरेक वर्ष जुलाई ११ मा यो दिवस मनाइँन्छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । जनसंख्याको मुद्दा र पर्यावरण तथा विकासका सम्बन्धमा जागरुकता फैलाउनु यस दिवसको मुख्य उद्देश्य रहेको छ । विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।

विकासका लागि जनसंख्या आवश्यक हुन्छ र सँगै सुनिश्चित भविष्य, देशको सुरक्षाका लागि सन्तुलित जनसंख्या चाहिन्छ । भौतिक सुख, आधुनिकता र तीब्र विकासको चाहनाले विकसित देशहरुमा जनसंख्या कम हुँदै गएको छ । अहिले विश्वका विकसित मूलुकहरुमा आफ्नो खस्कँदो जनसंख्याका कारण देशको भविष्य नकारात्मक विन्दुमा पुगेका घटनाहरूले डरलाग्दो अवस्थाको सिर्जना गरेको छ । मान्छेहरु बच्चा जन्माउन भन्दा पनि काम, विकास र नवप्रर्वतनमा लागेकाले यसो भएको हो । जनसंख्या थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयूक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाँउमा छ तथापि विकास अनि समृद्धिका लागि चाहिने जनशक्तिको पूर्णता पनि जनसंख्याले नै गर्ने त हो । एउटा सन्तुलित जनसंख्या वेगैर कुनैपनि देशको सुरक्षा, विकास दिगो भविष्यको कल्पना पनि गर्न सकिन्न । नेपाल,भारत र बङ्गलादेशमा क्रियाशील जनंसख्या कूल जनसंख्याको ६० प्रतिशत भन्दा बढी छ । यी जनस्रोतलाई राम्ररी प्रयोग गर्नसके विकास पर छैन तर दूर्भाग्य नेपाली जनशक्तिहरूको पसिना स्वदेश भन्दा विदेशमा चुहिरहेको छ । यसमा दोष प्रवासमा रोजगारी खोज्दै जानेहरूको भन्दा पनि जानैपर्ने बाध्यता सिर्जना गर्नेहरूको हो । यसर्थ यस्ता कुराहरुमा सम्बन्धित निकायको ध्यान जान सके मात्र हरेक वर्ष मनाइँने जनसंख्या दिवसको सान्दर्भिकता रहन्छ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने निश्चित छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update