Shittalpati
डेरावाल विद्यार्थीलाई राहत बाडेर नेविसंघ पाल्पाले मनायो स्थापना दिवस

सुमन कार्की
पाल्पा,नेपाल विद्यार्थी संघ पाल्पाले डेरामा बसेका विद्यार्थीहरुलाई राहत बाडेर आफ्नो ५१ औँ स्थापना दिवस मनाएको छ । अध्ययनका लागि विभिन्न जिल्लाबाट आएर तानसेनमा डेरा लिएर बस्दै आएका विद्यार्थीहरुलाई राहत स्वरुप खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरी शनिबार नेविसंघले स्थापना दिवस मनाएको हो । २१ जना विद्यार्थी र केही स्थानीय विपन्न परिवारलाई ५ केजी चामल, २ केजी आलु, १ पोका खाने तेल, १ केजी दाल, १ पोका नुन,१ पोका स्वयाविन वितरण गरिएको संघले जनाएको छ । त्यस्तै लकडाउनका बेला स्वास्थ्य क्षेत्रलाई पनि मध्यनजर गर्दै संघले सिटामोल, मास्क समेत वितरण गरेको छ ।


अल्पत्र परेका विद्यार्थीहरुलाई सरकारले सहयोग गर्न वेवास्ता गरिरहेकाले सरकारलाई दवाव दिन र सांकेतीक तथा सन्देशका रुपमा राहत वितरण गरिएको नेविसंघका कार्यवाहक जिल्ला सभापति सुरेश बोहोराले बताए । अलपत्र अवस्थामा रहेका विद्यार्थी र दैनिक ज्यालादारी गरेर जीवीकोपार्जन गर्दै आएका मजदुरहरुका लागि विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । सभापति बोहोराले यदि सरकारले विद्यार्थी र अलपत्रमा परेका अन्यलाई नहेर्ने र वेवास्ता गर्ने हो भने नेविससंघ आफै सडकमा उत्रिएर उनीहरुको उद्दारमा लाग्ने समेत बताए ।
स्थानीय सरकारले राहत वितरण गर्दा बाहिरबाट अध्ययन गर्न आएका विद्यार्थीहरु समस्यामा पर्दा समेत नहेर्नु दुखद् भएको भन्दै आफुहरुले केही राहत भए पनि सहयोग गरेको संघका त्रिभुवन बहुमुखी क्याम्पसका कार्यवाहक सभापति सुवाष गैरेले बताए । अलपत्रपरेका विद्यार्थी र अन्य व्यक्तिहरुलाई स्थानीय सरकारले गन्तव्यसम्म पुर्याउन पहल गरेमा आफुहरुले सहयोग गर्ने उनले बताए । नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरे,नेता रुक्मागत भट्टराई, नेविसंघका महामन्त्री महेश्वरी कुंवर,संघका केन्द्रिय सदस्य हरिवोल भट्टराई लगायतको उपस्थितीमा राहत वितरण गरिएको थियो ।


प्रत्येक वर्ष विभिन्न फलफूल वितरण सँगै रचनात्मक काम गरी स्थापना दिवस मनाउदै आएको संघले यस वर्ष भने विश्व भरी नै कोरोना भाइरसका कारण लकडाउनमा परेको अवस्थामा भाडामा बस्ने विद्यार्थीहरुलाई राहत वितरण गरी मनाएको छ । विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौंको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो । त्यस समय यता नेविसंघले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update