Shittalpati
मातातिर्थ औंसी र यसको महत्व

प्रकाश प्रयास
यस वर्षको मातातिर्थ औंसी आज मनाइदैं छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरेर मातार्थि औंसी मनाउन लागिएको हो। मातार्थि औंसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंशीका दिन मनाइने गरिन्छ । जन्म दिने आमाप्रति सम्मान गर्ने उद्देश्यले यो मनाइने गरिन्छ ।

यस दिन जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाउने गरिन्छ । शास्त्रमा पिता भन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् । छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा–मीठा तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड सहित श्राद्ध तथा पुरोहितलाई सिदा दान सहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

आमाको मुख हेर्ने अर्थात् औशिलाई पितृको तिथि मानिन्छ । बैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभुमिश्व स्वर्गादपि गरियसी’ अर्थात जन्मदिने आमा र जन्मभुमिको महत्व दर्शाएको छ । सन्तानलाई नौ महिनासम्म धारण गरी जीवनदिने भएकाले आमाको महत्व अरुभन्दा धेरै छ । आमा प्रत्येक मानिसका पहिलो शिक्षिका अर्थात गुरुआमा समेत हुन्छिन् । शास्त्रमा उल्लेख गरे अनुसार प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नेपर्छ भनिएको छ । पितृ ऋण तिर्न मातापितालाई जिवित हुँदा सम्मान पूर्वक खुशी राख्ने र मृत्युपश्चात श्राद्धपूर्वक श्राद्धा गर्नुपर्ने शास्त्रीय बिधान छ । ‘कुपुत्रो जायते क्वचिदपि कुमता न भवति’ आमाले छोराछोरी नराम्रा भएपनि सबैलाई सन्तानका रुपमा माया गर्छिन् । विशेष आमा बाबा नभएकाहरुले यस दिन गंगा वा तलाउमा गई स्नानगरी आमाबाबालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दान सहित भोजन गराई , पितृसुतक रामगिता पाठ गरी पितृको दिवंगत आत्मको कामना गर्दै आशीर्वाद माग्न सकिन्छ । त्यसमा अझ औशिमा जन्मेको छ भने त्यसको निवारण गर्नको लागि गाइलाई चना गुण खुलाउने र औशी दोष निवारण गर्न सकिन्छ । यसर्थ मातातिर्थ औशीको छुट्टै महत्व रहेको छ । यसर्थ जन्म दिने बाबा आमा महान छन् । उनीहरुलाई एक दिनमात्र सम्झिएर हुँदैन सधै सम्झनुपर्छ । यस आमा बुवाललाई आश्रम होईन न्यानो माया दिन सक्नुपर्छ । फेसबुक र टिकटकमा फोटो पोस्ट गरेर मात्र आमा, बाबाको सम्मान हुँदैन् । त्यसकारण आमाबाबा भन्ने शब्द नै आफैमा महत्वपूर्ण छ । (लेखक ज्योतिष समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update