Shittalpati
भिडियो कन्फ्रेन्सबाट शिक्षकहरुको बैठक

रमेश विश्वकर्मा
गुल्मी,जिल्लाको एक विद्यालयमा भिडियो कन्फ्रेन्समार्फत शिक्षकहरुको बैठक भएको छ । बिहीवार रेसुङ्गा नगरपालिका ८ मा अवस्थित सिद्धबाबा माध्यमिक विद्यालयले भिडियो कन्फ्रेन्स मार्फत शिक्षकहरुको बैठक सञ्चालन गरेको हो । विश्वव्यापीे महमारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले शिक्षण क्षेत्रमा पारेको असरलाई मध्यनजर गर्दै कक्षा १०, ११ र १२ का विद्यार्थीहरुलाई लक डाउनका बीच पनि कसरी सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यले छलफल गर्नका लागि भिडियो कन्फ्रेन्सबाट शिक्षकहरुको बैठकको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसले जानकारी दिए ।

लकडाउन कहिले सकिने र जनजीवन कहिले सामान्य हुने भन्नेबारे केही पत्तो नभएकाले इन्टरनेटमार्फत अध्यापन कार्य अगाडि बढाउन सकिने विद्यालयका शिक्षक टिका खड्काले बताए । रेसुङ्गा नगरपालिका ८ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत भलामीले कक्षा १०, ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरु को–कहाँ छन् ? इन्टरनेटको सहज पहुँच पुगेका विद्यार्थी एवं अभिभावकहरुको तथ्याकं शनिवारसम्म संकलन गर्न शिक्षकहरुलाई आग्रह गरे । त्यस्तै उनले अनलाइनमार्फत विद्यार्थीहरुलाई पढाउने तयारीको लागि यो बैठक गरिएको भन्दै पढाईलाई सहजतापूर्वक अगाडि बढाउन सकिएमा तल्लो कक्षासम्म अनलाइन प्रबिधिबाट अध्यापन कार्य अगाडि बढाउन सकिने बताए । वडाध्यक्ष भलामीले वडामा रहेका सबै विद्यार्थीहरु जो–जहाँ पढेपनि उनिहरुलाई पनि कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा आफुहरु तयारीमा लागेको बताए । भिडियो कन्फ्रेन्स मार्फत भएको शिक्षकहरुको बैठकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत भलामी, प्रधानाध्यापक डोर विक्रम श्रीस लगायत १३ जना शिक्षकस्टाफहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update