Shittalpati
वर्षाले किसान उत्साहित

रामचन्द्र रायमाझी
पाल्पा, हिउँद सकिनै लाग्दा परेको पानीले पाल्पा र गुल्मीका किसान उत्साहित भएका छन् । हिउँदमा पानी नपर्दा चिन्तित बनेका यहाँका किसान शुक्रबार र शनिबार परेको वर्षाले भने उत्साहित भएका हुन् । यो समयमा परेको पानीले मकै छर्ने र चैते धान रोप्ने तयारीमा रहेका किसानहरुलाई राहत मिलेको छ । गत असोज महिनामा परेको पानी त्यसयता हिउँदको समयमा परेको थिएन । पानी परेसँगै किसानहरुले लगाएका मौसमी तथा बेमौसी तरकारी, फलफुल र अन्य वालीलाई समेत राहत मिलेको छ ।

शुक्रबारदेखि पहाडी जिल्लाका अधिकांश ठाउँमा भएको वर्षाले किसानलाई खुसी दिएको हो । यसअघि चैतको पहिलो साता पनि पानी परेको थियो । खेतमा छरेका मकै र बारीमा छर्ने तयारी गरिरहेका किसानलाई ठूलो राहत पुगेको किसानहरु बताउँछन् । हिउँदे तरकारी र मकैलाई अहिलेको वर्षाले निकै फाइदा पुगेको छ । अहिले गुल्मी र पाल्पाका अधिकांस बारीमा गहुँ पाकेको छ भने केही ठाउँहरुमा गहुँ, स्याहारेर मकै छर्ने तयारीमा किसना छन् । पानी नपरेका कारण यस पटक चैते धान रोपाई पनि ढिला भएको छ । चैते धान रोप्न तयारी गरेका यहाँ किसानहरुलाई समेत पानीले राहत दिएको हो । सिँचाइका लागि आकासे पानीमा निर्भर रहेका किसानका लागि अहिलेको पानीले खुसी दिएको छ । ‘चैते धान लगाउने बेला भएको थियो, पानी नपर्दा लगाउन पाएका थिएनौं, पानी परेकाले अब धान रोप्ने तयारी गर्दछौं’ पूर्वखोला गाउँपालिकाकी सीता सारुले भनिन् । हिउँदे वर्षाले सुख्खा रहेका खेतबारी अहिले चिस्यान भएको उनले बताईन् । सारुले बारीमा लगाएको तरकारीलाई अहिलेको वर्षाले राहत मिलेकोमा खुसी व्यक्त गरिन् । हिउँदमा लामो समयसम्म पानी नपर्दा खेतबारीमा लगाएका तरकारी समेत फस्टाउन पाएका थिएनन् अब फस्टाउनेमा उनी आशावादी छन् ।

गुल्मीका अधिकांश ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि किसानले त्यसको तयारी गरेका छन् । ‘हिउँदे वर्षा र हिमपात नहुँदा गहुँ, जौ लगायतका हिउँदेबाली, तरकारी र फलफूलहरू खेतवारीमा नै सुक्न लागेका थिए’ मुसिकोट नगरपालिका–३ पेगाकी किसान सारदा जिसीले भनिन्, ‘यो हिउँदमा पहिलोपटक बल्ल पानी पर्‍यो, औधी खुसी छौँ ।’ अहिले बारीमा मकै छर्ने बेला भएकाले पानीले ठूलो राहत दिएको पनि उनले बताइन् । खेतमा मकै छरिसकेका किसान पनि हिउँदे वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् । ‘खडेरीले खेतमा छरेको मकै टुसाउन पाएका थिएनन् । यो वर्षाले धेरै राहत पुर्‍यायो’, इस्मा गाउँपालिका–१ हस्तिचौरका किसान निर्दोष खत्रीले भने ‘सिँचाइ सुविधा नभएको हाम्रोजस्तो ठाउँका लागि हिउँदे वर्षाले सघाएको छ ।’ पहाडका टार, बेंसीमा गहुँ, केराउ, फापर, तोरी र मसुरो स्याहार्ने बेला हो । केही किसानले गहुँ, तोरी स्याहारिसकेका छन् भने केहीले स्याहार्दै छन् । बारीमा रहेको गहुँ, तोरी स्याहरेका किसान पानी परेसँगै मकै छर्ने तयारीमा जुटेका छन् । हिँउदको समयमा पानी नपर्दा किसानले लगायको बेमौसी तथा मौसमी तरकारी, फलफूल लगायतका वालीहरु सुक्दै जान थालेका बेला पानीले केही राहत पुगेको कृषि प्राविधिकहरु बताउँछन् ।

पाल्पामा ३६ हजार ५ सय ३७ हेक्टरमा खेती हुँदै आएकोमा ८ हजार ६ सय २० हेक्टरमा बर्षेधान, ७ सय ५ हेक्टरमा चैते धान र २७ हजार २ सय १२ हेक्टरमा अन्य खेती हुँदै आएको छ । यहाँ ८ हजार ८ सय ५ हेक्टर खेतमा वर्षायाममा सिँचाइ सुविधा उपलब्ध छ । वर्षैभरि ३ हजार ९ सय ३४ हेक्टर क्षेत्रफलमा सिँचाइ हुन्छ भने मौसमी सिँचाइ ४ हजार ८ सय ७१ हेक्टरमा गर्न सकिन्छ । यस्तै गुल्मीमा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ, भने ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ । जसमध्ये ९ हजार ८ सय ७ क्षेत्रफलमा बर्खे धान रोपिँदै आइएको छ भने ४ सय ४५ क्षेत्रफलमा चैते धान रोप्ने गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा सबैजसो ठाउँमा सिँचाइको पर्याप्त व्यावस्था नहुँदा किसानहरु आकासे पानीमा भरपर्नु पर्ने बाध्यता छ ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update