Shittalpati
सुन बिक्री भएन

पाल्पा, पछिल्लो केही समय यता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अत्याधिक बढेपछि नेपाली बजारमा विक्री हुन छोडेको छ । सुनको मूल्य बढ्दा व्यवसायीले नेपाली बैंकबाट सुन किन्न छाडेका छन् । देशमा आर्थिक मन्दीका कारण आमसर्वसाधारणमा पैसा नभएकाले पनि बजारमा सुनको माग हुन छोडेको हो ।

जसका कारण व्यसायीहरुले समेत सुन खरिद गर्न छोडेका हुन् । बिहीबारसम्म वाणिज्य बैंकहरूमा १ सय ८५ किलो सुन स्टक रहेको नेपाल बैंकर संघले जनाएको छ । फागुन मसान्तसम्म २ सय १३ किलो स्टक थियो । स्टक बढ्न थालेपछि वाणिज्य बैंकहरूले सुन आयात बन्द गरेको संघको भनाइ छ । बैंकमा स्टक रहेकाले बैंकले सुन आयात रोकेको छ । नेपाल राष्ट्र बैंकले कोटा प्रणालीबाट सुन आयातको व्यवस्था गर्दै आएको छ । उक्त व्यवस्था अनुसार वाणिज्य बैंकहरूले कोटाअनुसार आयात र बिक्रीवितरण गर्न पाउँछन् । आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कोटा प्रणाली लागू गरेको हो । कोटा प्रणाली अनुसार प्रतिदिन १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था छ । मुलुकमा सुन मुख्यतः दुबई, हङकङ, स्वीट्जरल्यान्डबाट आयात गरिन्छ । उक्त सुन व्यापारीहरूले गहना बनाएर मात्रै बेच्न पाउँछन् । तर सुनको मूल्यले कीर्तिमानी मूल्य बनाएपछि सुन बिक्री सुस्त भएको हो । जसले गर्दा बैंकको सुन पनि बिक्री नभएको हो ।

दैनिक कोटा अनुसार यसबीचमा उपत्यका र उपत्यका बाहिर गरी २ सय किलोको कोटा मौज्दात रहेको संघले जनाएको छ । बिहेको सिजनमा समेत सुनको विक्री हुन सकेन । मूल्यमा देखिएको अनिश्चितताले सुनको मागमा कमी आएको सम्बन्धित व्यवसायीहरु बताउँछन् । अहिले दैनिक जसो सुनको भाउ बढेपछि सर्वसाधारण पर्ख र हेरको अवस्थामा रहेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update