Shittalpati
सुनचाँदी व्यवसायी विश्वकर्माद्वारा विपन्न परिवारलाई खाद्यान्न र माक्स

रमेश विश्वकर्मा
गुल्मी, जिल्ला सदरमुकाम तम्घासमा सुनचाँदी व्यवसाय गर्दै आएका झविन्द्र विश्वकर्माले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारका लागि खाद्यान्न र माक्स सहयोग गरेका छन् । उनले रेसुङ्गा नगरपालिकाको १४ का दैनिक ज्याला मजदुरी गर्ने र विपन्न वर्गका परिवारलाई खाद्यान्न,माक्स, साबुन सहयोग गरेका हुन् । रेसुङ्गा नगरपालिकाको सबैभन्दा विकट वडाको रुपमा रहेको पराल्मी तथा रातामाटाका विपन्न परिवारलाई उनले १७ हजार बराबरको माक्स, साबुन र खाद्यान्न वितरण गरेका छन् ।

पराल्मीका छाप, टापु, गाँव, कोल, देउराली लगायतका विपन्न परिवारलाई उक्त सामग्री वितरण गरेको व्यवसायी विश्वकर्माले बताए । उनले रातमाटामा वडा सदस्य फर्सुराम कुवँरलाई उक्त सामग्री हस्तान्तण गरेका थिए । विकासको दृष्टिकोणले समेत पछाडी पर्दै आएको उक्त वडाका स्थानीयलाई आफ्नो व्यक्तिगत तर्फबाट कोरोना भाइरसले सबैतिर सन्त्रास छाइरहेको अवस्थामा केही भएपनि राहत पुगोस भन्ने उद्देश्यले राहत वितरण गरेको विश्वकर्माले बताए । विपत्तिको बेलामा गरिने सहयोग नै सबैभन्दा धेरै पुण्यको कार्य भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहयोगका कार्यलाई निरन्तरता दिने बताए ।

‘विपतको बेला सहयोग प्रदान गर्ने नेपालीहरुको संस्कार पनि हो ।’ विश्वकर्माले भने ‘संकटको यस घडीमा सरकारले जारी गरेको नियमलाई पालना गर्दै सहयोगी भावना पनि व्यक्त गर्नुपर्दछ ।’ प्रत्येक, टोल तथा घर–घरमा माक्स तथा खाद्यान्न वितरण गर्दै उनले कोरोना भाइरसबाट बच्नका लागि माक्सको सही प्रयोग गर्न तथा साबुन पानीले मिचिमिचि हात धुन आग्रह गर्दै यसबेला व्यक्ति आफै पनि बढि संयम हुनुपर्ने उल्लेख गरे । विश्वकर्माले कोरोना भाइरसबाट बच्नका लागि सरफाईमा विशेष ध्यान पुर्‍याउनु पर्ने बताउँदै यसबेला परिवारका सबै सदस्यहरु सजक बन्नु पर्ने उल्लेख गरे ।

माक्स तथा साबुन लिएर विश्वकर्मा आफैँ टोलटोलमा पुगेको देख्दा पराल्मीका समाजसेवी शिव पोखरेलले प्रंशसा व्यक्त गरे । उनले आगामी दिनमा पनि सहयोगी कामलाई अगाडि बढाउन आग्रह समेत गरे । माक्स तथा साबुन वितरण कार्यमा त्यस वडाकी सामाजिक परिचालिका हिमा सूर्यवंशी, स्थानीय गोकर्ण सुनार लगायतले सहयोग पुर्‍याएका थिए ।

 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update