Shittalpati
राष्ट्रिय एकता दिवसको सार्थकता

नेपाली सभ्यताको ऐतिहासिक स्वरूप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वी नारायण शाहाको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाईदै आइएको छ । हरेक वर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्तिका दिन राष्ट्रिय एकता दिवस हर्षोल्लास पूर्वक मनाइदै आइएको हो ।

आज देशभर विविध कार्यक्रमहरु गरी दिवस मनाउन लागिएको छ । आजको दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको विगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिइने गरिन्छ । पृथ्वी नारायण शाहालाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । इतिहास शिरोमणी बाबुराम आचार्यको सुझावमा विक्रम सम्बत २०१२ देखि नेपालमा पुष २७ गते राष्ट्रिय एकता दिवसको रूपमा मनाउन थालिएको हो । पञ्चायतकालमा यस दिवसलाई राजतन्त्रको गुणगान गाउने दिनको रूपमा मनाइयो यद्यपि २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि पनि यो दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्थ्यो । पृथ्वीजयन्तीका रूपमा विगत धेरै लामो समय राष्ट्रिय एकता दिवस मनाइँदै आएकोमा देश गणतन्त्रमा गइसकेपछि भने दिवसको महत्व घटाइएको छ ।

यतिबेला सबै दलका नेताहरूले देश विखण्डन हुने खतरा देखिरहेका छन् । सबै नेताका मुखबाट राष्ट्रिय एकताको आवश्यकतामा जोड दिएको पाइन्छ । यसैले पनि राष्ट्रिय एकता दिवसको महत्व कति रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । इतिहास कहिल्यै मर्दैन । वर्तमान नेपालको राजनीतिक, भौगोलिक, जातीय तथा क्षेत्रीय मागका बारेमा उठेका विषयहरूलाई आज नजरअन्दाज गर्ने हो भने वर्तमान नेपालको अवस्था जो पृथ्वीनारायण शाहको एकीकरण अभियान थियो, त्यो भन्दा ज्यादै पछाडी गइरहेको छ ।

नेपालका राजनीतिक दलका नेताहरूले छातीमा हात राखेर सोच्ने हो भने पृथ्वीनारायणको सम्झना नगरेर बस्न सकिने अवस्था छैन । हिजो पृथ्वी नारायण शाहाले एकीकरण गरेका नेपाली भूमिहरु छिमेकी देशहरुले अतिक्रमण गर्दा समेत नेपालका राजनितिक दलहरु मौन हुनु दुखद् हो । पृथ्वीनारायण शाहकै सन्तान बहादुर शाहले नेपालको एकीकरण अभियानलाई निरन्तरता दिएर पश्चिममा सतलज र पूर्वमा टिष्टासम्म पु¥याएका थिए । तर आज त्यो सत्यलाई नेपाली राजनितिक दलहरुले आत्मसात् गर्न सकेका छैनन् । दिवसलाई औपचारिकता दिनका लागि मात्र दिवस मनाइनु हुँदैन । देशभक्ति पृथ्वी नारायण शाहाको योगदानलाई शिरोधार्य गर्न सकिएन भने दिवस मनाउनुको कुनै औचित्य रहदैन । तसर्थ दिवसको अवसरमा शाहाको योगदानको कदर गर्दै सबै देशभक्तहरु एकढिक्क हुने हो भने मात्र दिवस मनाउनुको सार्थकता रहन्छ ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update