Shittalpati
पाल्पामा उच्च सतर्कता,  अपरिचित व्यक्तिलाई प्रवेशमा रोक

रामचन्द्र रायमाझी/इमान सिं राना
पाल्पा, नेपालमा ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै जिल्लाका गाउँ–गाउँमा समेत संक्रमण फैलिन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि गाउँमा अपरिचित व्यक्ति प्रवेशमा निषेध गरिएको छ, भने स्थानीय तहहरुले बाहिरबाट आएकाहरुलाई राख्नको लागि क्वारेन्टाइनको समेत व्यवस्था गरेका छन् । जिल्लामा भारत लगायत तेस्रो मुलकबाट गाउँ र शहरमा भित्रिएकाहरु खुलेआम हिंडडुल गर्न थालेपछि उनीहरुलाई क्वारेन्टाइन र घरमै राख्ने चुनौती पनि थपिएको छ । उनीहरु क्वारेन्टाइन जान अटेर गरेपछि स्थानीय त्रासित बनेका छन् । सरकारले लडकाउनको घोषण गरे पनि विदेशबाट आएका व्यक्तिहरु खुलेआम रुपमा हिडडुल गर्न थालेपछि जिल्लाका केही ठाउँहरुमा स्थानीय र जनप्रतिनिधिहरुको सक्रियतामा अपरिचित व्यक्तिहरुलाई प्रवेशमा रोक लगाउने काम भएको हो । निस्दी गाउँपालिका ६ अर्चले नारी भञ्ज्याङ्ग टोलका स्थानीयहरुले अपरिचित तथा अन्य स्थानबाट आएका व्यक्तिहरुलाई गाउँ प्रवेशमा रोक लगाएका छन् । ञसंक्रमण फैलन नदिन सरकारले लकडाउनको घोषणा गरे पनि मानिसहरुको आवत–जावत नरोकिए पछि नाकाहरुमा ढाडसँगै भाँजा हालेर स्थानीय प्रवेश निषेध गरेका हुन् । लेकाली युवा क्लवको सक्रियतामा स्थानीयहरुले पूर्वखोलाको सिलुवाबाट अर्चले हुँदै मित्याल जोड्ने सडकको दुवैतर्फ ढाड राखेका छन् ।

४४ घरपरिवारको बसोबास रहेको नारी भञ्ज्या· भएर गाडीबाट ओहोर–दोहोर गर्ने तथा विभिन्न बहानामा गाउँमा नयाँ–नयाँ मान्छे प्रवेश हुने गरेपछि टोलले गाउँलाई पूर्ण लकडाउन गरेको हो । लेकाली युवा क्लवका सह–सचिव प्रकाश रानाले विदेशबाट आउने नभई पछिल्लो समय अन्यत्रबाट आउने मानिसले जोखिम बढाएको भन्दै नाकाहरु बन्द गरिएको बताए । उनले भने, ‘नवलपरासी लगायत विभिन्न स्थानबाट खसी, पाडा खोज्नेहरु आउने क्रम रोकिएन त्यसैले संक्रमण हुन नदिन यस्तो उपाय अपनाएका हौं ।’ रानाले थपे, ‘कोदोको रक्सी खोज्न आउनेहरुलाई अहिले हुँदैन भनेर फर्काइदियौं ।’ लेकाली युवा क्लबका अध्यक्ष अनिल रानाले अत्यावश्यक सवारीको लागि बाटो खुल्ला गर्ने गरिएको बताए । उनले भने, ‘अपरिचित मानिसहरुको आवत–जावत बढ्यो । सधैँ नाकामा कुरेर बस्न पनि नसकिने त्यसैले बरु ढाड राखेर छेकेका हौं । निस्दीका अधिकांश टोलहरुमा एक टोलबाट अर्को टोलमा जान समेत निषेध गरिएको छ । त्यस्तै स्याङ्जाको चापाकोट ८ दामाचौर र रामपुर ६ प्याकलुक जोड्ने झोलुङ्गे पुल आवत–जावतमा पनि स्थानीयले बन्द गरेका छन् । गाउँका मानिस सुरक्षित रहेपनि बाहिरबाट आउनेहरुले जोखिम बढाएको भन्दै प्रदेश पाँच र गण्डकी प्रदेश जोड्ने पुल स्थानीयले बन्द गरेका हुन् ।

अन्तर प्रदेश जोड्ने पुलमा दिनभर प्रहरीले सुरक्षा दिए पनि साँझको समयमा आवत–जावत बढेको भन्दै हिड्डुल गर्न बन्द गरिएको रामपुर ६ का स्थानीय ओमप्रकाश बस्यालले बताए । स्थानीय युवाहरुले पुलमा बाँस तथा डोरीले बाधेर आवत–जावत बन्द गरेका छन् । रामपुर ६ का स्थानीय सिताराम आचार्यले दिनभरी प्रहरी खटिएकाले वारिपारी गर्न नपाएको तर साँझको समयमा मौका छोपेर आवतजावत बढेकाले पुल बन्द गरिएको बताए । केही दिन अघि स्याङ्जाको कालिगण्डकी गाउँपालिका १ र पाल्पाको तानसेन नगरपालिका १४ जोड्ने झोलु·े पुलमा पनि अस्थायी बार लगाएर प्रवेश निषेध गरिएको थियो । पुल हुँदै ओहोरदोहोर गर्ने तथा विभिन्न बहानामा गाउँमा नयाँ–नयाँ मान्छे प्रवेश हुने गरेपछि स्थानीयको सक्रियतामा पुल बन्द गरी प्रवेशमा रोक लगाइए पनि सरोकारवालाहरुको आग्रहमा अहिले बार फालेर निगरानी बढाइएको कालिगण्डकी गाउँपालिका १ का वडा अध्यक्ष सोभिलाल चौतारेले बताए । जिल्लाका अन्य स्थानका सिमाहरुमा पनि बार लगाएर अपरिचित व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ ।

तराइको सिमानासँग जोडिएका तिनाउ, माथागढी, रैनादेवी छहरा र निस्दी गाउँपालिकाको बाटो भएर विभिन्न नाकाहरुबाट लुकिछिपी मानिसहरु प्रवेश गर्ने गर्दा जिल्लामा समस्या उत्पन्न भएको छ । जिल्लामा १ हजार बढीको संख्यामा भारत लगायत तेस्रो मुलुकबाट नागरिकहरु जिल्ला प्रवेश गरेका छन् । उनीहरुबाट कोरोना संक्रमणको उच्च जोखिम रहने सम्भावना रहेकाले प्रत्येक स्थानीय सरकारहरुले क्वारेन्टाइनको व्यवस्था मिलाए पनि अधिकांश नागरिक क्वारेन्टाइनमा बस्न नमानेपछि अहिले यहाँका क्वारेनटाइन खाली छन् ।

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update