Shittalpati
पीडितको घाउमा मलम लगाउँदै माथागढी सरकार

रामचन्द्र रायमाझी
पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले पिडितहरुको घाउमा मलम लगाउने काम गरेको छ । गाउँपालिकाले कोरोना भाइसरका लक्षण देखिएका विरामीहरुको निःशुल्क स्वास्थ्य उपचारदेखि लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्यालादारी गर्दै आएका मजदुरहरुको घाउमा मलम लगाउने काम गर्दै आएको हो ।

अस्पतालले फर्काइदिएका विरामीको गाउँपालिकाको पहलमा उपचार

गत चैत्र २१ गते कोरोना भाईरसको आशंकामा लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना भएका माथागढी ४ झडेवा नेटाका २४ वर्षीय बिष्णुबहादुर सारु र ५२ वर्षका बुवा चन्द्रबहादुर सारु डिस्चार्ज भएका छन् । उनीहरुको स्वाब परीक्षण पछि कोरोना रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था समान्य भएपछि विहिबार साँझ डिस्चार्ज भएका हुन् । लुम्बिनीको एक होटलमा काम गर्दै आएका विष्णु गत चैत ८ गते घर आएका थिए । ज्वरो, रुखाखोकी र सासफेर्न गाह्रो भएपछि उनी २० गते एलएमसीमा उपचारका लागि आए । तर उनलाई कोरोनाको आशंकामा अस्पतालले उचित उपचार एवं पारामर्श नदिई घर फर्काएको थियो । उनीसँगै आएका बुवालाई पनि ज्वरो आएकाले अस्पतालले उपचार गर्न मानेन् । अन्ततःबाबु छोरा नै घर फर्किन बाध्य भएका थिए । उपचारका लागि अस्पताल आएका विरामीलाई उपचार नगरी फर्काएको विषयको चौतफी आलोचना भएपछि गाउँपालिकाको पहलमा बाबु छोरालाई नै पुनः मेडिकल कलेजमा उपचारका लागि पाठाइएको थियो । उनीहरुको अस्पतालको आइसुलेसनमा राखेर ६ दिनसम्म उपचार भएको हो । उनीहरुमा कोरोना नभएको पुष्टि भएको र अवस्था सामन्य बन्दै गएपछि डिस्चार्ज गरिएको एलएमसीले जनाएको छ । उनीहरु अहिले स्वस्थ भए पनि होम क्वारेन्टाइनमा बसेका छन् ।

गाउँपालिकाको पहलमा आफुहरुको उपचार भएकोमा उनीहरु खुसी छन् । सुरुमा आफुहरुको पहँुच नभएकाले पनि अस्पतालले उपचार गर्न नमानेको विष्णुले एनजेडीसँगको कुराकानीमा बताए । उनले भने ‘ज्वरो आएकाले अस्पताल गएर मलाई गाह्रो भएको छ भनेर डाक्टरलाई भनेँ तर, बस्न मिल्दैन भनेपछि फर्किएँ, अस्पतालले हाम्रो कुरै सुनेन् ।’ अर्को दिन गाउँपालिकाको स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहितको टोली घरमा आई प्रथामकि उपचारपछि अस्पताल जान सिफारीस गरेपछि पुनः अस्पताल आएको विष्णुले बताए । उनले भने ‘गाउँपालिकाले पहल नगरेको भए यति बेला हामी मृत्युसँग लड्नु शिवाय अरु केही हुने थिएन् ।’ ज्वरो आएका बेला गाउँका छिमेकीहरुले समेत उनीहरुलाई नराम्रो दृष्टिकोणले हेर्ने गरेकोमा अहिले भने कोरोना रिपोर्ट नेगेटिभ आएपछि छिमेकीको साेंचमा समेत परिवर्तन आएको छ ।

उपचारमा लागेको सबै खर्च गाउँपालिकाले व्यहोर्ने

माथागढी गाउँपालिकाले बाबु छोराको उपचारमा लागेको सम्पूर्ण खर्च व्यहोर्ने भएको छ । गाउँपालिकाले कोरोना संक्रमणको लक्षण देखिएका र संक्रमण भएका व्यक्तिहरुलाई अस्पतालसम्म पु¥याउन र उपचारका लागि निःशुल्क गर्ने निर्णय गरेसँगै उनीहरुको सम्पूर्ण खर्च व्यहोर्ने भएको हो । उनीहरुको उपचारका लागि खर्च भएको २९ हजार ७ सय ६६ र एम्बुलेन्स शुल्क समेत गाउँपालिकाले भुक्तान गरिदिने गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने ‘विपद्मा परेका नागरिकहरुको उद्दारका लागि हामी सधै तयार छौं,कोही पनि नागरिक भोकभोकै र स्वास्थ्य उपचार नपाए मर्नु पर्दैन ।’ जिल्लाकै प्रतिष्ठित अस्पतालले बिरामीप्रती गरेको ब्यवहारले भने आफुलाई चिन्तित बनाएको अध्यक्ष थापाले बताए । उनले अस्पतालले विरामीलाई फर्काएको जानकारी पाउन साथ गाउँपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको पहलमा पुनःउनीहरुलाई उपचारका लागि अस्पतालमा पठाईएकोमा सफल उपचारपछि बाबुछोरा नै घर फर्कीएको बताए । उनीहरुको अवस्था सामन्य भए पनि स्वास्थ्यकर्मीहरुकै निगरानीमा होम क्वारेन्टाइनमा राखिएको अध्यक्ष थापाले जानकारी दिए ।

विपन्नलाई राहत वितरण

गाउँपालिकाले लकडाउनका कारण दैनिक जीविकोपार्जन गर्न अप्ठेयारामा परेकाहरुका लागि राहत वितरण गरेका छ । दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने विपन्न श्रमिकको साँझ बिहानको छाक नअड्कियोस् भनी राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनका अनुसार विपत् व्यवस्थापन कोषमा रहेको बजेटबाट गाउँपालिका भित्र रहेका सात सय विपन्न घरपरिवालाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको हो । गाउँपालिकाले विपन्न परिवारका लागि प्रति परिवार २५ केजी चामल, २ लिटर तेल,२ केजी नुन, २ के जी दाल दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update