Shittalpati
बैतडी जिप दुर्घटना, चार प्रहरीको मृत्यु

बैतडी, बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनाम परी चार जना प्रहरीको मृत्युभएको छ । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर आठ जना प्रहरी र एक चालक घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवान नरेश कठरिया, आशा धामी, भानु विष्ट, टीकेन्द्र ऐरी, चन्द्रसिंह ठगुन्ना र चालक देवराम महर रहेका छन् । घाइतेमध्ये गणेश र पुतलीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पन्थीले बताए । अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उपचाररत नरेश, आशा र देवरामको अवस्था पनि गम्भीर रहेकाले उनीहरूलाई पनि थप उपचारका लागि हेलिकप्टरमार्फत पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियोे । जिपमा १२ प्रहरी र एक चालक गरी १३ जना सवार थिए । जिल्ला सदरमुकाममा मतपेटिका पु¥याएर पाटन फर्कंदै गरेको प्रहरी टोली सवार जिप बिहान ७ बजे दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खोलामा खसेको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको छ । –रासस

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update