Shittalpati
रानीमहल–राम्दी सडकको मन्त्री रानाद्वारा अनुगमन

पाल्पा, लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले निर्माण हुन नसेका सडकहरुको स्थलगत अनुगमन गरेका छन् । उनले कालीगण्डकी करिडोरको रानीमहल–राम्दी सडक खण्डको स्थलगत अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा यस सडक खण्डको राम्दीदेखि रानीमहलसम्मको १८ किलोमिटर सडकमा स्तरोन्नतिको काम अलपत्र रहेको पाइएको छ । खानीगाउँको दैलातुङदेखि रानीमहलसम्म सडकमा पहिरो खसेकाले यातायात सञ्चालनमा पाँच महिनादेखि कठिनाई भएको, दैलातुङबाट मन्द्रान हुँदै राम्दी जाने सडकमा पनि ट्रयाक खुल्न नसकेको पाइएको छ ।

मन्त्री रानाले बगनासकाली गाउँपालिका क्षेत्रभित्र कालीगण्डकी करिडोरले चासो दिएर काम नगरेको बताए । पाँच महिनादेखि सडक अवरुद्ध हुँदासमेत कालीगण्डकी करिडोर आयोजनालाई मतलब नै नभएकाले पनि यसका विषयमा सरोकारवाला सबैलाई समन्वय गर्न मन्त्री रानाले आग्रह गरे ।

उनले जनताको जीवनस्तर माथि उकास्ने लाइफलाइन सडकको अवस्थाबारे स्थानीयसँग छलफलसमेत गरे । ‘यो सडक निर्माणमा भएको ढिलाईले गर्दा यस भेगका बासिन्दाले सहज सुविधा पाउन सकेका छैनन्,’ उनले भने, ‘करिडोरको अन्यत्र सबै ठाउँमा ट्रयाक खुल्दासमेत यही क्षेत्रमै नखुल्नु दुःखद पक्ष हो । त्यसैले पनि चासो दिएको हो ।’ यस क्षेत्रका सयौं रोपनी खेत बाँझो भएको छ भने धान, मकै लगाउने खेतबारी नै मासेर सडक दिएपनि अहिलेसम्म कालीगण्डकी करिडोरको काममा भएको ढिलाईले सबैलाई चिन्तित तुल्याएको मन्त्री रानाले बताए ।

कालीगण्डकी करिडोर आयोजना प्रमुख कल्पना अधिकारीले वर्षौ अघि लगाएको ठेक्काको काम अझै सम्पन्न नभएको बताउँदै चार महिनाभित्र देखिने गरी काम हुने बताइन् । अहिले स्थलगत अध्ययन गरेको र निर्माण व्यवासायीलाई यस विषयमा जानकारी गराइसकेको आयोजना प्रमुख अधिकारीले बताइन् । निर्माण व्यवसायीले बीचमा काम नगरेको र अब चार महिनामा काम सम्पन्न गर्ने प्रतिवद्धता निर्माण व्यवसायीले जनाएको बताइन् । बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले निर्माण व्यवसायीलाई तत्काल काम गर्नका लागि दबाव दिनुपर्ने बताए । उनले यही क्षेत्रमै काम नहुँदा जहिले पनि जनताको भनाई खानुपरेको बताए । बगनासकाली गाउँपालिका–६, यम्घाका वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, बगनासकाली–७, का वडाध्यक्ष गुनबहादुर बुढाथोकी लगायतले कालीगण्डकी करिडोर आयोजनाले राम्दीदेखि रानीमहलसम्मको सडकमा तत्काल काम गरेर पुनः स्तरोन्नतिको ठेक्का लगाउन आग्रह गरे ।

स्थानीय बासिन्दाले मन्त्री राना लगायतको टोलीलाई स्वागत तथा सम्मान गर्दै छिटोभन्दा छिटो कालीगण्डकी करिडोर स्तरोन्तनतिको काम अगाडि बढाउन आग्रह गरे । नेपाली कांग्रेसका बगनासकाली सचिव राजेन्द्र प्रसाद बस्याल, काँग्रेस बगनासकालीका प्रवक्ता दयाराज न्यौपाने, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य माधव अर्याल लगायत स्थानीयहरुले तत्काल काम अघि बढाएर जनताको माग पूरा गराउनसमेत कालीगण्डकी करिडोर आयोजनाले ध्यान दिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update