Shittalpati
नेपालमा वर्षाका कारण २४ घण्टामा ११ जनाको मृत्यु

काठमाडौं । केही दिनदेखि मनसुसन सक्रिय भएर धेरै स्थानमा मौसम बदली भई केही ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको र १० स्थानमा अविरल वर्षा भएको छ । मनसुनजन्य विपद् परेर पछिल्लो २४ घण्टामा ११ को मृत्यु , छ बेपत्ता रहेको तथा १२ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । केही दिनदेखि मनसुन नेपालको पश्चिम जिल्लामा सक्रिय छ । कालीकोट, बाजुरा, कैलाली, बर्दियालगायत जिल्लामा विपद्जन्य घटना भएका र कालीकोटमा भने बढी क्षति भएको प्राधिकरणले जनाएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–४ माझगोठीस्थित एक घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–७ स्थित घरमा पहिलो खस्दा अन्य सात जनाले ज्यान गुमाएको र महावै गाउँपालिका–७ कोडवाडामा माथिबाट ढुङ्गा खसेर घर थिच्दा दुई बालबालिकाको ज्यान गएको प्राधिकरणले एक सूचना जारी गरी जनाएको छ । कालीकोटका विभिन्न स्थानमा पाँच जना हराइरहेकाले सेना र प्रहरी टोलीले उद्धार जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईँले जानकारी दिए । उनका अनुसार उद्दारका लागि बुधबारदेखि नै सेनाको हेलिकोप्टर आउने प्रयास गरे पनि मौसम बिग्रेकाले सफल हुनसकेको छैन । बाजुराको बूढीगङ्गा नगरपालिका–१ अमकोटमा गोठालो गएका एक व्यक्ति पहिरामा परेर बेपत्ता भएका छन् । कैलाली र बर्दियामा समेत बाढी र पहिराले केही मानिस घाइते भएका र बाढी पसेर दुई हजार कुखुरा तथा खोर नष्ट भएको जनाएको छ । मौसमविद् प्रतिभा मानन्धरले मनसुन न्यून चापीय रेखा नेपाल नजिक आएकाले केही दिनदेखि मनसुन सक्रिय रहेको र बढी पश्चिम क्षेत्रमा पानी परेको जानकारी दिइन् ।

काठमाडौँमा राम्रो वर्षा नभए पनि विभिन्न स्थानमा वर्षा भइरहेको छ । यसअघि न्यूनचापीय रेखा नेपालको नजिक थियो । अहिले बढी पूर्वी क्षेत्र नजिक छ । यसअघि पश्चिम क्षेत्रमा बढी मनसुन सक्रिय हुँदा केही ठाउँमा भारी वर्षा भएको छ । धनगढीमा मात्रै १६७ मिलीमिटर वर्षा मापन गरिएको छ । त्यसपछि पूर्वी भागमा वर्षा भएको र मध्य भागमा भने केही कम वर्षा भएको छ । आज धनगढीमा १९८ मिलीमिटर वर्षा मापन गरिएको छ । विराटनगरमा ३३ दशमलव आठ, ताप्लेजुङमा १९ र सिमरामा १७ मिलीमिटर वर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ । विहिबार भने न्यूनचापीय रेखा नेपालको पूर्व नजिक रहेकाले मनसुन पूर्व र मध्य भागमा बढी सक्रिय हुने देखिएको मौसमविद् मानन्धरले बताए । धेरैजसो स्थानमा मौसम बदली भए पनि भारी वर्षा भने एक÷दुई स्थानमा मात्रै हुने सम्भावना रहेको छ । प्रदेश नं १, २, वाग्मती, गण्डकी प्रदेशका केही क्षेत्रमा विहिबार बढी पानी पर्ने बताइएको छ । शुक्रबार भने प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा बढी मनसुन सक्रिय हुने जनाइएको छ । अन्य प्रदेशमा पनि मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । -रासस

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update