Shittalpati
लकडाउनका बेला खानेपानीको हैरानी खेप्दै तानसेनवासी

कृष्ण पोखरेल
तानसेन । विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको आज ५२ औं दिन भएको छ । लकडाउनले पाल्पा लगायत देशभर ठप्प छ । लकडाउनका कारण उपभोग्य वस्तुहरुको अभाव सिर्जना भइरहेका बेला तानसेनवासीहरुले खानेपानीको अभाव समेत झेल्नु परेको छ । तानसेनमा दिनँहु बर्षा भई पानीको श्रोत बढिरहेको छ तर उपभोक्ताको घरमा भने दुई हप्ता हुँदासम्म खानेपानीको धारा नआउदा हैरानी खेप्नु परेको छ । कोरोनाको कारण लकडाउन भएपछि विद्यार्थी कर्मचारी तथा भाडामा बस्ने व्यक्तिहरु गाउँ–गाउँ गएर पानीको खपत कम भएपनि उपभोक्ताको घर–घरमा दुई हप्तामा एक घण्टा पनि पानी नआउँदा तानसेनवासी हैरानीमा परेका हुन् ।

दुई हप्तासम्म धारामा पानी आउँदैन, ट्याड्ढरबाट पानी मगायो भने ५ दिन पछि मात्र आउछ यो अवस्थामा तानसेनमा कसरी बस्ने ? तानसेन नगरपालिका वडा ३ का उपभोक्ता राजेन्द्र गोपाल सिंहले भने । धारामा पानी नआएपनि अधिकाश तानसेनवासीहरु ढुङ्गेधारामा धाउन बाध्य भएका छन् । उनीहरु जोखिम मोलेरै ढुङ्गेधारामा धाएको तर कोरोनाको संक्रमणको डरले आफुहरु घर बाहिर निस्कन नसकिएको तानसेन वडा ५ का जीवन थापाले बताए । दुई हप्तामा पानीको धारा आउँदा समेत १ घण्टा मात्र पानी आउने गरेको तानसेन ४ का बुद्धबहादुर केसी बताउन्छन् ।

खानेपानी उपभोक्ता समिति जिम्मेवार नभएकै कारण खानेपानीको समस्या भएको केसीको भनाई रहेको छ । तानसेन खानेपानी उपभोक्ता समितिमार्फत तानसेनमा खानेपानी आपुर्ती हुँदै आएको छ । लकडाउन अघि नै तानसेन होलाङ्दीको पानी तान्ने मोटर प्यानल बिग्रिएको थियोे तर अहिलेसम्म मर्मत भएको छैन । लकडाउनको बहाना बनाउँदै समितिका पदाधिकारी तथा कर्मचारीहरु जिम्मेवारीबाट पन्छने गरेका छन् । दैनिक एक लाख लिटर पानी तान्ने १ वटा प्यानल बोर्ड बिग्रने वित्तिकै लकडाउन भयो प्यानलबोर्ड बुटवलमा मर्मतका लागि पठाएको छ तर मर्मत गर्ने मिस्त्री घर गएकाले बनाउन नसक्दा पानी वितरण प्रणालीमै समस्या आएको समितिका कोषाध्यक्ष भिमसेन कार्कीले बताए ।

तानसेन नगरपालिकाले बाँझा क्षेत्रमा सडक निर्माण कारण बाँझाको मुलको पानीमा समेत समस्या भएको, नेपाल विद्युत प्राधिकरणले लाईन मर्मत गर्दा समेत भुल्केको लाईनमा समस्या आएकाले पानी वितरणमा ढिलो भएको कोषाध्यक्ष कार्कीले बताए । कालीगण्डकी पानी माघ भित्र आउने भनि तानसेनवासी तथा पत्रकारहरु माझ सार्वजनिक गरेको समितिले अहिलेसम्म कालीगण्डकीको पानी तानसेनसम्म ल्याउन सकेको छैन । तानसेनमा दैनिक २५ लाख लिटर पानीको आवश्यकता भएपनि हाल दैनिक रुपमा ५ लाख लिटर पानी मात्र पम्प हुँदै आएको छ ।

तानसेनमा भुल्के, सिस्ने, होलादी, तीनधारा क्षेत्रबाट लिफ्ट प्रणालीबाट पानी वितरण हुँदै आएको छ । तानसेन खानेपानी उपभोक्ता समितिले हालसम्म ३ हजार ५ सय निजी धारा वितरण गरेको छ भने नयाँ धाराको लागि करीव १ हजार ५ सय उपभोक्ताले निवेदन दिएका छन् । तानसेनको खानेपानी लिफ्टमा आधारित खानेपानी भएकाले विद्युत अवरुद्ध हुँदा समस्या हुने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update