Shittalpati
साहित्य प्रतिष्ठान पाल्पाद्वारा विभिन्न व्यक्तित्व सम्मानित

पाल्पा, शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार तानसेनमा आफ्नो १७ औं वार्षिक दिवस, ९४ औं कुलमणि देवकोटा जन्मजयन्ति र कमलराज रेग्मी वर्ष पुरस्कार, सम्मान तथा छात्रवृत्ति वितरण समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको हो । उसले विगतमा जस्तै यस वर्ष पनि शिक्षा, स्वास्थ्य र साहित्यको क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान र विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानले कमलराज रेग्मी वर्ष पुुरस्कारबाट बुद्धिप्रसाद शर्मालाई सम्मान गरेको छ ।

यस्तै कूलमणी देवकोटा स्मृति प्रतिभा पुरस्कारबाट प्रा.डा.सावित्री मल्ल कक्षपती, लक्ष्मी प्रिय जगतबहादुर जोसी पुरस्कारबाट सह प्रा.शान्त शाक्य, जगत कुलमणी कविन्द्र त्रिनक्षेत्र पुरस्कारबाट गंगा लिगल, शक्तीराज रेग्मी सञ्चार सेवा सम्मानबाट केदारलाल श्रेष्ठ, इन्द्रलाल भारती शिक्षा सेवा सम्मानबाट गोविन्दप्रसाद नेपाल, राधाबद्री स्मृति स्वयसेवा सम्मानबाट केशवराज पौड्याल, विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कारबाट सावित्रीदेवी शाही, दिना नाना कार्की स्वास्थ्य सेवा सम्मानबाट शारदा लक्ष्मी कार्की, बालहरी पौड्याल स्वास्थ्य सेवा सम्मानबाट दीपककुमार बिसी, तुल ठगी शैक्षिक प्रतिभा पुरस्कारबाट रिया बस्याललाई सम्मान गरिएको छ ।

यस्तै प्रतिष्ठानले १२ जना विद्यार्थीहरुलाई विभिन्न विधाका छात्रवृति समेत वितरण गरेको छ । उसले विमला कमल चार वर्षे छात्रवृत्ति, ज्ञान ज्योति शैक्षिक छात्रवृत्ति, सिविका छात्रवृत्ति र माता दिना कुमारी स्मृति छात्रवृत्ति वितरण गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन, विशिष्ट अतिथि प्रतिष्ठानका संरक्षक डा. प्रकाशराज रेग्मी, प्रतिष्ठानका अध्यक्ष पुष्करराज रेग्मीले संयुक्त रुपमा सम्मानित व्यक्ति र विद्यार्थीहरुलाई नगद र प्रमाणपत्र वितरण गरेका थिए ।

सम्मानित व्यक्तिहरुलाई सम्मान गर्दै प्रदेश प्रमुख अमिक शेरचनले कमलराज रेग्मीको राजनीतिक, सामाजिक व्यक्तित्वका विषयमा चर्चा गरेका थिए । विशिष्ट अतिथि प्रतिष्ठानका संरक्षक डा. प्रकाशराज रेग्मीले राम्रा काम गर्ने व्यक्तिलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले समाजमा योगदान दिएका व्यक्तिहरुलाई प्रतिष्ठानले हरेक वर्ष सम्मान गर्दै जाने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा सिंजाली, सम्मानित व्यक्तित्व बुद्धिप्रसाद शर्मा, पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, साहित्यकारहरु शान्त शाक्य, डा.टंक पन्त लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका भोजराज भट्टराईले सम्मानित व्यक्तित्वहरुको बारेमा जानकारी गराए । प्रतिष्ठानका कोषाध्यक्ष विनोद भारतीले ७ लाख २ सय बराबरको आव्य व्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा पाल्पा प्यारागन बोर्डिङ स्कूलका विद्यार्थीहरुले गीतमार्फत स्वागत गरेका थिए । प्रतिष्ठानका अध्यक्ष पुस्करराज रेग्मीको अध्यक्षता, उपाध्यक्ष रोहीत ज्ञवालीको स्वागत, महासचिव चन्द्रकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update