विचार

महिला र दलितप्रति दसैँको सन्देश

Shittalpati Reporter

छन्दबहादुर पहराई मगर
मानव विकास सँगसँगै हाम्रा चाडपर्व, रितिरिवाज, धर्म संस्कार पनि मानवको आवश्यकता अनुसार साथसाथै आएका हुन् । धर्म संस्कार मानिसले मात्रै मान्दछ । चलन चल्तीमा ल्याउने र विस्तारै संस्कारलाई अनुसरण गर्ने काम मान्छेले मात्रै गर्दै आएको देखिन्छ । सबै प्रकारको सर्वाङगिर्ण विकास जस्तै हाँस्ने, रुने र सोच्ने शक्ति मान्छेले मात्रै पाएको हुन्छ । आपनो परम्परा अनुसार काजक्रिया गर्ने र दुःख, सुख व्यक्त गर्ने कार्य जनावरले गर्न सक्दैन । प्रत्येक मेलापर्वहरु समाजसँग जोडिएको हुन्छ । कुनै–कुनै पर्वहरुले विशेष प्रकारको महत्व राख्ने गर्छ ।

हाम्रा सांस्कृतिक पर्व भनेका समाजका उत्सव हुन, जसले व्यक्ति र समाजलाई जोडने काम गरिरहेको हुन्छ । जुन प्रकारको समाजको बनोट र बसोबास छ त्यस्तै प्रकारको आवश्यकता अनुसार चाडपर्वहरु स्थापित हुदै आउने र समय अनुसार उत्सव मनाउने क्रममा विस्तारै फेरबदल हुने पनि गर्दछ । नेपाल बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक देश भएको हुनाले सबै जातिले समय अनुसार आफ्ना धर्म र रितिरिवाजहरु मान्दै आएका छन् । हाम्रो देशमा धार्मिक सहिष्णुता कायम छ । एउटा जातिको धर्म र चाड अर्को जातिले हार्दिकता पूर्वक ग्रहण गर्ने देखि मिलेर मनाउने परम्पराको विकास हँुदै पनि आएको छ । केहि पर्वहरु मिलेर मनाउने प्रचलन बढ्दै गएको हुनाले राष्ट्रिय पर्वको रुपमा स्थापित हँुदै गएको पाइन्छ । जस्तै मुस्लिमको इद, बुधिष्टको वैशाखे पूर्णिमा, ल्होसार र हिन्दुको दसैँ तिहार आदि ।

दसैँ : दसैँ नेपालीहरुको महान पर्व हो । आश्विन महिनाको शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सवको रुपमा लिइन्छ । विशेष गरी आश्विन शुक्ल सप्तमीका दिनदेखि फूलपाती, महाष्टमी, महानवमी र विजया दशमी लगातार चारदिन सम्म विशेष रुपले मनाइन्छ । चैत्र महिनाको शुक्ल अष्टमीको दिन पनि चैते दसैँको रुपमा मनाइन्छ । यो पर्व असोजदेखि कात्तिक सम्म पनि पर्न सक्छ । वडा दसैँ हिन्दुहरुको सबै भन्दा महान चाड हो । तर दसैँलाई आम नेपालीहरुको चाडपर्वको रुपमा उत्सव साथ मनाउन सकिएको छैन । कुनैपनि विशेष चाडपर्वहरु . ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पौराणिक कालसँग जोडिएको हुन्छ । दसैँ भन्नाले विजया दशमीको दिनलाई विशेष महत्वका साथमा लिइन्छ । यो दिनलाई हार र जितको दिनको रुपमा लिइन्छ । जस्तै असत्य माथि सत्यको जित, आसुर्य माथि सुरहरुको जित, आर्यहरुले अनार्य माथिको जीत वा देवीले राक्षस माथि गरेको विजय आदि भएकाले यसलाई बिजय दशमीको रुपमा मानिन्छ । दसैँ जस्तो सामाजिक महत्वको पर्वलाई पौराणिक हिसावले वा कुनैपनि हिसाबले वर्ग संघर्ष सित तुलना गर्नु राम्रो होइन । नेपालका धेरै ठूला विद्वानहरुले पनि विजय दशमीको दिन भनेको आर्यहरुले अनार्य माथि गरेको बिजय अर्थात् नेपालमा खस आर्यहरुले आदिवासी जनजाति माथि गरेको विजयको रुपमा पनि व्याख्या गरेको हुनाले दसैँ मनाउने क्रममा आदिवासी जनजाती भित्र विवाद बढ्दै गएको र विस्तारै दसैँ मनाउन छोड्ने क्रम पनि बढेको छ । कुनै कुनै आदिवासी जनजातिले दसैँको टिकाको दिन कालो टिका लगाउने गरेका पनि छन् । दसैँमा लगाउने रातो टिका भनेको आफ्नो पुर्खाको हत्याको स्मरण हो भन्ने विश्वास पनि छ । खास गरिकन जातीयताको नाँउमा राजनीतिक गर्नेहरु र केही विद्वान भनाउदाहरुले आर्य र आदिवासी जनजाती बिच झगडा पार्ने अभिव्यक्ति तथा लेखहरु लेखि दिने गरेको पाइन्छ । पौराणिक कालमा हार्ने जति आदिवासी जनजाति र जित्ने जति आर्यहरु हुन भनी अपव्याख्या गर्ने गरिन्छ । विजय दशमीको उत्सवलाई रामायणको कथा अनुसार रामले लङकामा युद्व गर्दा रावणलाई मारेको दिनको स्मरण गर्दै असत्य माथि सत्यको बिजय हो भनेर भनिन्छ । राम आर्य भएको र रावण अनार्य भएको पौराणिक इतिहासलाई लेखमार्फत व्याख्या गरको पनि पाइन्छ । तर रामायणको कथा अनुसार यदि जातीय आधार मान्ने हो भने राम र रावण दुवै आर्य नै हुन । भगवान राम अयोध्याका राजा दशरथका जेठा छोरा हुन भने रावण पुल्स्तय ऋषिको नाती विश्रवा ऋषिको जेठा छोरा हुन । राम क्षेत्रीय कुलमा जन्मेका हुन भने रावण त झनै उच्च ब्राÞमण कुलमा जन्मेका हुन् । किनकी राम द्वारा रावणको बध गरिए पछि ब्रÞम हत्याको पाप कटाउनका लागि अश्वमेध यज रामले लगाएको प्रसंग रामायणमा उल्लेख छ । पौराणिक कथालाई आधार मान्ने हो भने जातीय हिसाबले क्षेत्री र ब्राÞमणको लडाई भएको देखिन्छ । त्यसकारण विजया दशमी जस्तो राष्ट्रिय पर्वलाई जातीय द्वन्द्वको रुपमा नलिएर प्रवृतिको लडाईको रुपमा बुझ्नु पर्दछ । राक्षस र देवता भन्ने प्रवृतिमा भर पर्दछ । रावणलाई खराब आचरणको विम्बको रुपमा हेर्नु पर्दछ रामलाई असल आचरणको विम्बको रुपमा हेर्नु पर्छ । असल आचरण देवता हो भने खराब आचरण राक्षस हो । रावण वेदको व्याख्याता भएर पनि बौद्धिक दानवको प्रतिनिधित्व गर्दछ भने राम असल आचरणको प्रतिनिधित्व गर्ने असल देवताको रुपमा लिनु पर्छ । विजय दशमी भन्नाले जसले अर्काको श्रीमतीलाई अपहरण गर्ने रावणको मृत्यु भनेको खराब प्रवृतिको अन्त्य भएको दिन हो भनेर उत्सव मनाउन उपयुक्त हुन्छ ।

दानव र देवताको बारेमा पुराणमा यस्ता प्रसंग धेरै छन् । राजा कंसलाई दानव भनेर वर्णन गरिएको छ भने कृष्णलाई भगवान वा देवता भनिन्छ, तर कृष्ण र कंस सखेद मामा भान्जा हुन । ह्न्र्दकश्यपलाई दानव भनिन्छ भने उनैका छोरा प्रलादलाई देउता मानिन्छ । हामीले बुझ्न पर्ने कुरा यो छ कि दानव र देवता भनेको प्रवृति वा आचरणमा भर पर्दछ । वेदमा भनिएको छ कि ‘आचारःप्रथमो धर्म’ पहिलो धर्म नै असल आचरण हो । खराव आचरण छ भने जो कोही भएपनि दानव हो भने असल आचरण छ भने जो कोही भएपनि देवता हो । मर्ने वा हार्ने जति अनार्य जित्ने जति देवता होइन । जसलाई दानव र जसलाई देवता भनिन्छ उनीहरु सबै कश्यप ऋषिका सन्तान हुन । कश्यप ऋषिका श्रीमती दिति तर्फबाट जन्मेकाहरुलाई दानव भनेर चिनिन्छ भने अदिति तर्फबाट जन्मेका सन्तानहरुलाई देउता भनिन्छ । दनु पुत्र महिषासुरको आचरण जनावरको जस्तो वा हान्ने रागोको जस्तो भएको हुनाले नवदुर्गा भगवतीले बध गरेकी कथा देविभागवतमा वर्णन गरेको पाइन्छ । त्यसकारण विजय दशमीको दिन मान्यजनबाट ग्रहण गरिने सेतो टिका असल आचरण र शुद्ध आत्माको प्रतिक हो ।

दसैँले दिने सन्देश : दसैँ सामाजिक पर्व भएको हुनाले सामाजिक मेलमिलाप र एक आपसमा हार्दिकता बढाउने हिसाबले उत्सव मनाउनु पर्छ । दसैँले समाजमा सामन्ती प्रथाको उन्मुलन गर्ने सन्देश दिएको छ । हाम्रो समाजमा सामाजिक कुसंस्कारले जडो गाड्दै आएको छ । मान्छेद्वारा मान्छेमाथि कुशासन र कुरीति लादिएको छ । हाम्रो समाजमा धर्म संस्कारको नाउमा महिला र दलित माथि विभेद गरिएको छ । कर्मको आधारमा वर्ण व्यवस्था वा चारजातमा समाजलाई बाडिएको छ । ब्राÞमण, क्षेत्री, वैश्य र शुद्र भनेर वेदमा कर्मको आधारबाट वर्ण विभाजन गरिएको हो । जो कोही भएपनि पढने र पढाउने बाहुन नभई ब्राÞमण हो भने सुरक्षा निकायमा काम गर्ने क्षेत्री हो । त्यसैगरी कृषि व्यपार व्यवसाय गर्ने वैश्य हुन भने निजामती सेवामा जागिर गर्ने देखि शुल्क लिएर वा नि : शुल्क सेवा गर्ने सबै शुद्र हुन । तर पनि समाजमा अनेक शास्त्रको बाहानामा दलित र महिला माथि अन्याय गरिदै आएको छ । दलित र महिला चार वर्ण भन्दा पनि अझै माथि छन् । जुन वर्गसँग प्रविधि र सीप छ जो धेरै पहिलेदेखि विज्ञानसँग जोडिएको छ त्यसलाई दलित भनेर हेपियो सानो वा निच जात मानियो । जुन वर्गले सबैको समस्या समाधान गरिदिन्छ उसैलाई अछुत मानियो । यो नै हाम्रो समाजको दुर्भाग्य हो । जसको हातमा कुनै सीप छैन जसलाई हातमा गर्न केहि आउदैन केवल काम्लामा बसेर गफ मात्रै गर्न आउँछ उसैलाई ठूलो जात मान्ने परम्परा कायम भयो । जुन नारीले सृष्टि कायम राख्छ उसैलाई हेप्ने कुप्रथा कायम हुँदै आएको छ । यसकारण दसैँले दिने सन्देश भनेको दलित र महिला प्रतिको उच्च सम्मान हो ।

दसैँमा पञ्चे बाजाको पुजा हुन्छ भने हतियारको सम्मान हुन्छ । हामीले पुज्ने सबै सामग्री दलितबाट नै निर्मित भएको हो । दसैँमा मुर्तिको पूजा, फलामबाट निर्मित हतियारको पूँजा, बाध्यवादनका सामग्रीको पुजा गर्नु नै दलित प्रति उच्च सम्मान र आदरभाव प्रकट गर्नु हो भन्ने कुरा वर्तमान समाजले बुझ्नु पर्छ । त्यसैगरी नवदुर्गा भगवतीको विभिन्न रुपहरुको पुँजा गर्नु भनेको नारी प्रतिको सम्मान, आमा प्रतिको सम्मान र दिदीबहिनी चेलीबेटी प्रतिको सम्मान हो । नवदुर्गा देवीको नौ वटा रुप हुन्छन् शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुशमण्ड, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री गरी नौ वटा देवीको पुजा आश्विन शुक्ल प्रतिपदादेखि महानवमीका दिनसम्म पुजा आरधाना गरिन्छ । यी सबै रुपहरु सृष्टिका रुप र नारीका रुप हुन । यसर्थ महिला, दलित र गरिखाने वर्गमाथिको उच्च सम्मान प्रकट गर्नु पर्छ भन्ने नै विजय दशमीको मूल सन्देश हो । (लेखक नेपाली काँग्रेसका केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत हुन् ।)


प्रकाशित मिति: शुक्रवार, आश्विन ३०, २०७७, १०:३९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पर्यटकको पर्खाइमा पर्यटन क्षेत्र शुक्रवार, आश्विन ३०, २०७७, १०:३९:००
विद्यालय खोल्दा सावधानी अपनाऔं शुक्रवार, आश्विन ३०, २०७७, १०:३९:००
टेलिभिजन दिवस र यसको महत्व शुक्रवार, आश्विन ३०, २०७७, १०:३९:००
बाल दिवसको औचित्य शुक्रवार, आश्विन ३०, २०७७, १०:३९:००