Shittalpati
अब देशको मुहार फेर्न बदलिएको काँग्रेसलाई विजयी गराउनुको विकल्प छैन: डा भण्डारी

गुल्मी, नेपाली काँग्रेसका प्रभावशाली नेता एवं गुल्मी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. चन्द्र भण्डारीले देशको मुहार फेर्न अब बदलिएको कांग्रेसलाई विजयी गराउनुको विकल्प नभएको बताएका छन् । 

चन्द्रकोटको शान्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा.भण्डारीले अब गगन थापाको नेतृत्वमा बन्ने नयाँ सरकारले मुलुकका हरेक परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्ने सोंचलाई साकार पार्ने भन्दै काँग्रेसलाई विजयी गराउनुको विकल्प नभएको बताएका हुन् । नागरिकको प्रत्येक मत मूल्यवान हुने उल्लेख गर्दै डा. भण्डारीले कुनै पनि अन्योलमा नपरी ’रुख’ चिह्नमा मतदान गर्न मतदातालाई आह्वान गरे । बीपी कोइराला र पुराना नेताहरूले स्थापना गरेको जगलाई अहिलेको युवा नेतृत्वले मलजल गरिरहेको भन्दै उनले बदलिएको कांग्रेसले मात्रै मुलुकमा आर्थिक र सामाजिक परिवर्तन ल्याउन सक्ने जिकिर गरे ।

डा– भण्डारीले भने “देशले थितिका नेता नपाएका कारण जुन रुपमा विकास हुनुपर्ने हो, त्यो हुन सकेन अब नेपाली काँग्रेसको पुरानो अनुभव र रुपान्तरित कांग्रेसको युवा पार्टीका सभापति गगन थापालाई प्रधानमन्त्री बनाएपछि देशले आज सम्मका हरेक समस्याहरु समाधान हुने छ ।” उनले आफुले यस क्षेत्रमा गर्न चाहेका र जनताका थप आवश्यकतालाई यो पटक पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । “ कार्यकाल पुरा गर्न नपाउँदै पुनः निर्वाचनमा जानु पर्ने पस्थिति सिर्जना भयो, यसले मैले गर्नु पर्ने कामहरु केही बाँकी छन् तीनलाई पुरा गर्नुपर्ने छ र नयाँ योजनाहरु पनि छन् तिनलाई पुरा गर्न लागि पर्ने छु” नेता भण्डारीले  भने “तपाईंहरूले मलाई पहिला पनि साथ दिनुभयो, यसपटक मतको अन्तर अझै बढाएर एक नम्बर बनाइदिनुहुनेछ भन्नेमा म विश्वस्त छु । फागुन २१ गते बाकस खोल्न मात्र बाँकी हो, जनताको मन त काँग्रेसले जितिसकेको छ ।”

चुनावी सभामा काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले सबै नेता तथा कार्यकर्ताहरु एक जुट भएर देश बदल्ने अभियानमा लाग्नुपर्ने बताए । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले गुल्मी जिल्लाले दुवै क्षेत्रमा काँग्रेसका अत्यन्त्यै प्रभावशाली र विकास प्रेमी नेताहरु पाएको भन्दै उनीहरुलाई जिताउनु हाम्रो आवश्यकता रहेको बताए ।   नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति पारिश्वर ढकालले वर्तमान मुलुकको माग भनेकै रुपान्तरित काँंग्रेस भएकाले  ढुक्क भएर चुनाव प्रचारमा लाग्नुपर्ने बेला आएको बताए । 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update