‘सहिद’ शब्दले सबैको शीर श्रद्धाले निहुरिन्छ । तिनले आफ्नो जीवनको परवाह नगरी मुलुकवासीलाई निरंकुशताबाट मुक्त पार्नुका साथै हकअधिकार स्थापित गर्न संघर्ष गरेका हुन्छन् । तिनकै बलिदानीपूर्ण संघर्षका कारण आज हामी नेपाली स्वतन्त्रता र समानताको उपभोग निर्धक्क गर्न पाइरहेका छौँ । चाहे त्यो २००७ साल, ०४६ वा ६२÷३ नै किन नहोस्, वीर–विराङ्गनाको त्याग र तपस्या तथा संघर्षले मुलुकलाई निकास दिएको छ । आज माघ १६ गते देश सहिद दिवस मनाइरहेको छ ।
सहिद दिवसका अवसरमा देश र जनताको लागि जीवनकै आहुँती दिने ति महान सहिदहरुलाई सम्झिने र उनीहरुले देखाएको सतमार्गको अनुशरण गर्ने प्रतिवद्धता जनाइन्छ । तर व्यवहारमा सहिदले देखाएको मार्ग अनुशरण नगर्ने तर देखाउनैका लागि वर्षमा एकपटक सम्झेजस्तो गर्ने प्रवृत्तिले सहिद दिवस औपचारिकतामा सीमित हुने गर्दछ । देश र जनताको सुन्दर भविष्यको कामना गर्दै नेपालमा सयौं व्यक्तिले ज्यानको आहँुती दिएता पनि सहिदका कैयांै सपना पूरा भएका छैनन् । माघ १६ गतेलाई सहिद दिवसको रुपमा मनाइन्छ । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको माघ १० गतेदेखि १५ गतेसम्म फरक–फरक मितिमा हत्या गरिएको थियो । सोही दिनको स्मरण गर्दै हरेक वर्ष सहिद सप्ताह समेत मनाउने गरिन्छ । तर कार्यक्रम औपचारिकतामै सिमित बन्न पुग्नु दुखद् हो । यसले सहिदको नै अपमान भएको ठहर छ । सहिद स्वयं एउटा जीवन्त इतिहास हो । सहिदहरुको सम्मान गर्नु भनेको उनीहरुले दिएका प्रेरणालाई आत्मसात गर्नु हो । उनीहरुले देखाएका मार्गको अबलम्बन गरी सहिदको सपनालाई मूर्तरुप दिनु नै सहिदहरुप्रति सच्चा सम्मान गरेको ठहर्छ । सहिदहरुको सम्मान गर्ने नाममा उनीहरुको त्याग, तपस्या, बलिदान र असिमित व्यक्तित्वलाई वैचारिक दायरामा सिमित राख्नु त्यो सहिदहरुप्रतिको अपमान हो । जबसम्म सहिदले देखाएको शतमार्गमा हिँड्न र उनीहरुको योगदानको उचित कदर गर्न सकिदैन तबसम्म सहिद प्रतिको सच्चा सम्मान हुन सक्दैन । तसर्थ निजी र दलगत स्वार्थबाट माथि उठेर सच्चा सहिदको सम्मान गर्न जरुरी छ ।

